सिमाना माथि उभिएर हेर्दा !

मौन र प्रतिक्रियाहिन पाठक भएर बस्न नसकिने रहेछ । उसो त पाँच नम्बर (लुम्बिनी ) प्रदेशमा रहेर साहित्यका विविध क्षेत्रमा निरन्तर सकृय महानन्द ढकाल अपरिचित नाम होइन पाठक माझ । उहाँका गजल , हाइकु , मुक्तक , नियात्रा र साइनो विधामा कलम कहिल्यै रोकिएको छैन । साहित्यको उत्थानका लागि रेडियो , पत्रपत्रिका , टेलिभिजनदेखि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको गरिमामय पदमा समेत रहेर सेवा दिइरहनु भएको छ ।

    समयले पद र प्रतिष्ठा जीवित राख्न सक्दैन । कृतिले नै हो कर्मलाई बचाउने भन्ने चेतनाका कारण उहाँले यस अघि नै चारवटा कृति  पस्केर परिचय स्थापित गरी सक्नुभएको छ । उहाँ व्यक्तिगत रूपमा र लेखनमा समेत सरलतामा विश्वास राख्नु हुन्छ भन्ने कुरा व्यक्तिगत भेटघाट र साहित्यमा सम्लग्नता र लेखनले बुझ्न सकिन्छ । विश्वलाई तहसनहस पार्दै फैलिएको कोरोना कहर बीच एउटा सकारात्मक कर्मका रूपमा आएको उहाँको प्रस्तुत कृति “ सिमाना” मुक्तक संग्रह अव्वल आकर्षक र व्यवस्थित कृतिको रूपमा पढ्न पाइयो ।

८७ ओटा छानिएका मुक्तकसँग बिक्रम शिशिर र आयुष्मा ढकालका रेखाचित्रले पाठकका आँखा र मनलाई हरेक मुक्तक पिच्छे गम्भीर बनाइ दिन्छन् ।  गजल विधामा राम्रो पकड भएका ढकालका मुक्तक खोट लाउन सकिने खालका छैनन् । आवरण सज्जामा देवेन्द्र थुम्केली आकर्षक रूपमा देखिएका छन् । कागज र छपाइको गुणस्तरमा पनि खोट छैन । सिमानाको समस्याले पिरोलिएका छिमेकीबाट हेपिएका यावत विषयलाई समेटिएको अर्थबोध हुन्छ कृतिको शीर्षकबाट नै । पढ्दै जाँदा झन् छर्लङ्ग हुन्छ ।

संरचनागत हिसाबले हेर्दा  चतुष्पदीय स्वतन्त्र पध्यात्मक विधा हो मुक्तक ।पहिलो हरफले विषय उठान गर्छ । दोश्रोले समर्थन गर्छ । तेस्रो हरफ स्वतन्त्र भएर पनि शुरुका दुई हरफको पृष्ठभूमि नछोडी चौथो हरफलाई बलियो र वजनदार बनेर विषय बस्तुमाथि मार हान्न सक्ने सामर्थ्य राख्छ । यसरी छोटो विधामा सटिक प्रहार गर्न सकिने क्षमताकै कारण मुक्तकको आयु निरन्तर बढ्दो छ । अनुप्रास मिल्ने शब्दको प्रयोग हुने हुँदा श्रुति मधुरता अर्को प्रमुख गुण हो मुक्तकको ।

  मुक्तकका प्रणेता कृष्ण प्रसाद पराजुली र भूपी शेरचनका अव्वल मुक्तकको प्रसंसा आज पनि उत्तिकै गरिने कारण मुक्तकको चोटिलोपन नै हो । मुक्तक शब्द संस्कृत भाषा साहित्यबाट नै आएको हो । पछिल्लो समय गजलको लघुत्तम विधाका रूपमा लेख्ने गरेको भएता पनि नेपाली साहित्य आकाशमा मक्तक लेखन निरन्तर चम्किलो देखिदै आएको छ । त्यो आकाशमा सिमाना कृति पनि थपिएको छ चम्किरहने सामर्थ्य बोकेर ।

   कुनै पनि रचना संग्रहको गुणदोषभन्दा पनि विधागत रचना गर्भ केलाउनु पाठकीय पहुँच पुगेको ठान्दछु म । गुणका हिसाबले मुक्तक ( एक श्लोकी , पूर्वापर प्रसङ्ग रहित , आफैमा पूर्ण , हृदयलाई झङ्कार दिने क्षमतायुक्त अनिबद्द र रसउद्बोधयुक्त हुनुपर्छ ।  जुन कुरालाई कवि ढकालले चुक्न दिनु भएको छैन । मुक्तक लेखनका चार श्रोत ( लोकधारा, संस्कृति ,सुक्ति इत्यादि र आगन्तुक मानिए पनि विधागत विस्तार हुँदैजाँदा  र प्रयोगवादी लेखनले विस्तार पाएको अवस्थामा चारै श्रोतलाई समेट्दै पाचौं श्रोत मौलिक र मौलिकता स्थापित भएको छ । सिमानाभित्र पनि यी श्रोतहरु देख्न पाइन्छ ।

  समग्र कविता मुख्यतः प्रवन्ध काव्य र मुक्तकाव्य गरी दुईभागमा विभाजित छन् ।प्रवन्ध काव्य बाँधिएको अर्थात एउटा विषयको वृत्तकै वरिपरि घुमेको हुन्छ ।महाकाव्य र खण्डकाव्य प्रवन्ध काव्य हुन् । त्यसैले मुक्तक मुक्त काव्यका रूपमा बुझिन्छ । जुन हरेक एक एक अर्थमा र भिन्न विषयमा प्रयुक्त हुन्छन् । लघु आयामका फुटकर कविता र लघुतम आयामका मुक्तक मुक्त काव्यको एकश्लोकीपूर्ण कविता हुनाले मुक्तक कविताकै एउटा  विधा हो ।मुक्तक लेख्न कवि चेतना नभई हुँदैन । टुक्का मिलाउनु र अनुप्रास मिलाउँदैमा चार लाइन हुँदैमा मुक्तक हुन सक्दैन । यो आँखाबाट हेर्दा सिमाना कतै बिझाउँदैन । जुन लेखकीय सफलताको रूपमा लिनुपर्छ ।

“ सिमाना “ झट्ट सुन्दा भौगोलिक सिमामा बुझिए पनि मुक्तक पढ्दैजाँदा, जीवनसँग जोडिने हरकोही अवस्थामा सीमा छ , सिमानाले मन, मानसिकता, घर परिवार देश , समाज र सबै मानवीय क्षेत्रलाई समेटिएको छ । माया, प्रेम ,  भोगाइ र जीवनबोध सबै मुक्तकले दर्शाएका छन् ।

र,अन्त्यमा एउटा मुक्तक  जसलाई उल्लेख नगरी मन मान्दैन ।

धर्ती बोकेर हिँडेको छु, आकाश बोकेर हिँडेको छु

अन्धकार हटाउनलाई प्रयास बोकेर हिँडेको छु

हाम्रै हाम्रा मात्र होइन, राम्रै राम्रा देखेको छु

मानवता बँचाउने विश्वास बोकेर हिँडेको छु ।

(सिमाना भित्रबाट )

सिमानाको सफलताको हार्दिक शुभकामना ।

✍विष्णु पादुका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *