शिक्षकको कार्यप्रगति विवरण पाक्षिकरुपमा स्थानीय तहको शिक्षा कार्यालयमा पेस गर्नु पर्ने

काठमाडौं/ २६ भदौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी गरेको छ । भदौ १९ गतेको मन्त्रिपरिषदबाट स्वीकृत प्राप्त उक्त निर्देशिका शिक्षा मन्त्रालयले बिहिबार सार्वजनिक गरेको हो । निर्देशिकाले वैकल्पिक विधिको पठनपाठनलाई औपचारिकता, निजी स्कुललाई अनलाइन कक्षा पढाए बापत शुल्क उठाउन, पाठ्यक्रम समायोजन गर्नका लागि बाटो खोलिदिएको छ । निर्देशिकाले विद्यार्थीहरुको शैक्षिकसत्रलाई खेर जान नदिन वैकल्पिक विधिको पठनपाठनलाई औपचारिक रूपमा मान्यता दिएको छ ।


पाठ्यवस्तु समायोजन गर्न सकिने :
निर्देशिकाले पाठ्यवस्तु समायोजनका लागि समेत बाटो खोलिदिएको छ । निर्देशिकाको १० नम्बर बुँदामा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यवस्तु समायोजन गर्ने अधिकार स्थानीय तहको शिक्षा शाखालाई दिएको छ । शाखासँग समन्वय गरी प्रधानाध्यापक, विषय शिक्षक र एक जना विज्ञको समिति निर्माण गरी उक्त समितिबाट पाठ्यवस्तु समायोजन गर्न सकिने व्यवस्था गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम समायोजन गरी सोही आधारमा कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । पाठ्यवस्तु समायोजन गर्दा विद्यालयको शैक्षिक सत्रको समयावधिलाई आधार मानी माथिल्लो कक्षामा अध्ययनका लागि आवश्यक हुने पाठ्यवस्तु नछुट्ने गरी विषयगत पाठ्यक्रमले तोकेको न्युनतम सिकाई उपलब्धि हासिल हुने गरी कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने निर्देशिकामा भनिएको छ ।


निजीले शुल्क शुल्क उठाउन पाउने :

कोरोना कहर सुरु भएसँगै अनलाइनबाट पठनपाठन गराउँदै आएका निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेबापत शुल्क लिने पाउने बाटो खुला गरिएको छ । मन्त्रालयले जारी गरेको निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’ प्याब्सनका सह- अध्यक्ष डि.के ढुङ्गानाले ढिलै पनि सरकारले निजी स्कुलको समस्या सम्बोधन गरेको बताए । निर्देशिकामा निजी विद्यालयका विषयमा प्रष्ट नभएपनि सरकारले लिएको निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ । शिक्षा मन्त्रालयले यसअघि अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा कुनैपनि शुल्क नलिन निर्देशन दिएको थियो । अभिभावकबाट शुल्क लिन नपाएपछि निजी विद्यालयले लामो समयदेखि शिक्षक तथा कर्मचारीलाई तलब दिएको छैन ।


शिक्षण विधि :
निर्देशिकामा कोभिड–१९ वा यस्तै प्रकारको विपद् वा महामारीजस्ता कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वाध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन, अध्यापन सुचारु राख्ने विधिलाई वैकल्पिक प्रणाली भनेर उल्लेख गरेको छ ।


समूहगत सिकाई कार्यक्रम सम्बन्धि व्यवस्था :
निर्देशिकामा विद्यार्थीलाई सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो, एफएम रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका समेत गरी पाँच समूहमा वर्गीकरण गरेको छ । यो प्रणालीअन्तर्गत कक्षा सञ्चालन हुनासाथ सोबमोजिम समूह विभाजन गरिएका विद्यार्थीहरूको सिकाइ सहजीकरणको मुख्य जिम्मेवारी विद्यालयले तोकेको शिक्षकको हुने व्यवस्था गरिएको छ ।


प्रअ र शिक्षक :
निर्देशिकामा शिक्षकले साप्ताहिक कार्यप्रगति विवरण प्रधानाध्यापकसमक्ष अनिवार्यरूपमा पेश गर्नुपर्ने र प्रअले सबै शिक्षकको कार्यप्रगति विवरण पाक्षिकरुपमा कार्यप्रगति स्थानीय तहको शिक्षा हेर्ने कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *