शिक्षा इकाई कैलालीमा तालाबन्दी


काठमाडौं/२५ भदौ – शिक्षा विकास तथा समन्वय इकाई धनगढी कैलालीमा तालाबन्दी गरिएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको शिक्षण सिकाई अनुदानको रकम निकासा नगरेको भन्दै उक्त कोटामा कार्यरत शिक्षकहरूले शिक्षा इकाई प्रमुख बैकुण्ठ सुवेदीको कार्यकक्ष र कार्यालयको मूल गेटमा ताला लगाएका हुन् ।


सरकारले शुन्य वा एकमात्रै दरबन्दी भएका सामुदायिक विद्यालयमा दिँदै आएको अनुदान रकम विगतमा आर्थिक वर्षको अगाडि नै निकासा हुने गरिएकामा यो वर्ष २ महिना बितिसक्दा पनि उक्त रकम निकासा नगरेपछि उनीहरु आन्दोलित बनेका हुन् ।


शिक्षण सिकाई अनुदान कार्यविधि अनुसारको सुविधा पनि नदिएको भन्दै आफ्ना माग सम्बोधनका लागि दबाब स्वरूप तालाबन्दी गरिएको अनुदान शिक्षक समिति कैलालीका संयोजक नन्दराम चौधरीले बताए । निजी क्षेत्रलाई कोरोना महामारीको बेलाको तलब रोक्न नहुने बताईरहेको सरकार आफैले विधि प्रक्रिया बमोजिम नियुक्त गरिएका शिक्षकहरूको तलब निकासा नगरेको उनको भनाइ छ । तत्काल आफूहरूको रकम निकासा नगरे अन्य विरोधका कार्यक्रम गर्ने चौधरीले बताए ।


यसै विषयलाई लिएर यहि भदौ २३ गते कञ्चनपुर र २४ गते डडेल्धुरा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा पनि तालाबन्दी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *