प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य कार्यक्रम खारेज गर्ने निर्णय फिर्ता लिन माग

काठमाडौं /१२ भदौ – निजी प्राविधिक शिक्षालय महासंघले सीटीईभीटी अन्तर्गत पढाई हुँदै आएको प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णयको विरोध गर्दै फिर्ता लिन माग गरेको छ ।


सीटीईभीटीबाट सम्बन्ध प्राप्त गरी १८ महिने स्वास्थ्य तालिम कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाको साझा संगठन निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले निर्णय फिर्ता लिनुपर्ने माग गरेको हो ।


राष्ट्रिय चिकित्सा शिक्षा आयोगको साउन ३० गते बसेको बैठकले सीटीईभीटी अन्तर्गत सञ्चालित चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रममा खारेज गर्ने निर्णय गरेको थियो । यही शैक्षिक सत्रदेखि लागू हुने गरी अनमीरसिएमएरल्याब असिस्टेन्ट, आयुर्वेद, अकुपञ्जर र अकुप्रेसरका कार्यक्रममा विद्यार्थी भर्ना गर्न नपाउने निर्णय आयोगको थियो ।


आयोगले चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ ले चिकित्सा शिक्षाअन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको हो । महासंघले विज्ञप्ति जारी गर्दै २५ वर्षदेखि देशको शैक्षिक उन्नयनमा योगदान गर्दै आएका सरोकारवाला निकायसँग कुनै सरसल्लाह नगरी, विकल्प र भावी योजना नदिई आकस्मिक तवरले निर्णय गरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव दुर्गाप्रसाद भुसालले कोरोना महामारीमा फ्रन्टलाईनमा खटिएका जनशक्ति र हाल तालिमरत १२ हजारभन्दा बढी प्रशिक्षार्थीमा समेत आतङ्क सिर्जना हुने गरी निर्णय आउनु गलत भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *