स्थानीय तहले खुलाएका विद्यालय बन्द गर्न झापा प्रशासनको निर्देशन

काठमाडौं/२४ साउन- भद्रपुर नगरपालिकाले सञ्चालनमा ल्याएकाे शैक्षिक गतिविधि तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ।

प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै प्रदेश १ सरकारले कोरोना भाइरसको रेड जोनमा राखेका भद्रपुर नगरपालिकाभित्र निजी तथा सामुदायिक विद्यालयले पठनपाठन सुरु गरेकाले तत्काल बन्द गर्न निर्देशन दिएकाे हाे । मन्त्रिपरिषद् बैठकको साउन ७ गते निर्णय अनुसार भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने र अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्र शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन गर्ने व्यवस्था गर्न लेखी आएको हुँदा सोही अनुसार मात्र गराउनु हुन प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

भद्रपुर नगरपालिकाको शिक्षा समितिले आचारसंहिता बनाएर अनौपचारिक रुपमा नगरभित्रका सामुदायिक तथा निजी विद्यालय सञ्चालनका लागि साउन ८ गतेदेखि अनुमति दिएको थियो। सोही बमोजिम नगर क्षेत्रका केही विद्यालयले कक्षा ९ र १० कक्षा सञ्चालन गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *