परीक्षाकाे कार्यतालिका फेरबदल गर्न नेविसंघकाे माग

काठमाडौं/१० साउन- नेविसंघले त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाले ताेकेका परीक्षाका कार्यतालिका फेरबदल गर्न माग गरेकाे छ ।

कोरोना संक्रमणको त्रास कायम नै रहेको भन्दै अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै कोरोना, बाढीपहिरो र यातायातको अवस्थालाई हेरेर कार्यतालिका फेरबदल गर्न माग गरेका हुन् । जारी विज्ञप्तिमा,एकातर्फ कोरोना संक्रमणको त्रास कायमै रहेको, अर्कोतर्फ बाढी पहिरो र डुबानले जनजीवन असहज भइरहेको र भाद्र १ गतेदेखि मात्रै लामो दुरीका सवारी साधन खुल्ने अवस्था रहेकोले विद्यार्थीहरु तत्काल परीक्षामा सामेल हुन सक्ने अवस्था नदेखिएको उल्लेख छ ।

‘परीक्षाका लागि तयारी गर्नसमेत समय अपर्याप्त रहेको र शैक्षिक संस्थादेखि धेरै लामो दुरीमा आफ्ना घरमा रहेका विद्यार्थीहरु यावत कारणहरुले परीक्षा केन्द्रमा आइपुग्न समस्या रहेकोले यो व्यवहारिक समस्यालाई ध्यान दिंदै परीक्षाको कार्यतालिकामा फेरबदल गर्न हामी जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले लकडाउन अन्त्य भएकाे घाेषणा गरेसँगै विभिन्न विश्वविद्यालयहरुले भदाैकाे पहिलाे सातादेखि परीक्षा गर्ने गरी सूचना जारी गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *