प्रभावकारी शिक्षण सिकाइमा त्रिकोणात्मक सम्बन्ध

नारायण प्रसाद न्यौपाने


शिक्षारुपी ज्ञान हरेक मानिसको आभूषण हो । शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन । हरेक मानिसलाई आफ्नो जीवन यापन गर्नका लागि तयार पार्ने प्रमुख माध्यम हो, शिक्षा । कुनै पनि समाजमा शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु भनेको आफ्नो जीवनको गहिराइलाई बुझ्न नसक्नु हो । जीवनलाई अँध्यारो खाडलमा धकेल्नु हो । समाजमा यही शिक्षारुपी ज्ञानबाट नै मानिसले राम्रो नराम्रो, असल खराब आदि छुट्याउन सकेको हुन्छ, । जीवनको सत्मार्गलाई पहिल्याउन सक्छ । अनि, आफूलाई सभ्य, लगनशील र इमान्दार नागरिकका रुपमा उभ्याएको हुन्छ । त्यसैले जुन गाउँ र समाजमा शिक्षित व्यक्तिहरुको बाहुल्यता रहन्छ, त्यो गाउँ समाजका व्यक्तिहरु सुखी र समृद्धशाली बनेका हुन्छन् । यस आधारमा पनि मानिसलाई पूर्ण जीवन व्यतित गर्नका लागि तयार गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । यस्तो महत्वपूर्ण शिक्षारुपी ज्ञानलाई विद्यालय तहमा प्रभावकारी बनाउनका निमित्त शिक्षक, विद्यार्थी र अभिभावक वीच त्रिकोणात्मक सम्बन्ध रहिरहनु आवश्यक पर्दछ ।


हरेक समाजमा स्थापित विद्यालय आफै एउटा समाज हो । जहाँ विभिन्न वर्ग, समुदाय, जातजाति, धर्म र संस्कृतिका जनसमुदायहरुको जमघट हुने स्थल बनेको हुन्छ । जहाँ शिक्षक र विद्यार्थीका रुपमा उपस्थित हुने व्यक्तिले आ–आफ्नो समाजको प्रतिनिधित्व गरेका हुन्छन् । विद्यालय समाजको एक अभिन्न अङ्ग हो भने बालबालिकाको सर्वाङ्गीण विकास गराउने एक शसक्त स्थल पनि हो । हरेक बालबालिकाको सबभन्दा पहिलो पाठशाला उसको आफ्नो घर परिवार हो भने त्यसपछिको दोस्रो पाठशाला मात्र विद्यालय हो । जहाँबाट आफ्नो सामाजिक, सांस्कृतिक, मूल्य र मान्यता, आदर्श, आफ्नो धर्म र संस्कृतिको संरक्षण गर्नमा विद्यालयले ठूलो भूमिका खेलेको हुन्छ । तसर्थ पनि विद्यालयमा हुने शिक्षण सिकाई प्रक्रियामा हरेक विद्यालय र उक्त विद्यालयका सम्पूर्ण परिवारहरु (शिक्षक, विद्यार्थी र अभिभावक) को सम्बन्धलाई अति महत्वपूर्ण मानिन्छ ।

शिक्षण सिकाई क्रियाकलापका माध्यमबाट ज्ञान आर्जन गरी परिवारका सदस्य बीच अर्थात् शिक्षक र विद्यार्थी, विद्यार्थी र विद्यार्थी, शिक्षक शिक्षक बीचको सम्बन्धमा विद्यालयले सेतुको काम गर्दछ । त्यसैले पनि विद्यालयमा दिइने शिक्षण सिकाई क्रियाकलापलाई त्रिकोणात्मक रुपमा हेर्ने गरिन्छ ।


विद्यालय भनेको शिक्षक विद्यार्थीको साझा घर हो । यो हरेक शिक्षक विद्यार्थी बीचको सहसम्बन्ध ल्याउने प्रमुख स्थल हो । जहाँ बसेर शिक्षण सिकाई क्रियाकलापका माध्यमबाट ज्ञान आर्जन गरी परिवारका सदस्य बीच अर्थात् शिक्षक र विद्यार्थी, विद्यार्थी र विद्यार्थी, शिक्षक शिक्षक बीचको सम्बन्धमा विद्यालयले सेतुको काम गर्दछ । त्यसैले पनि विद्यालयमा दिइने शिक्षण सिकाई क्रियाकलापलाई त्रिकोणात्मक रुपमा हेर्ने गरिन्छ । जुन शिक्षक, विद्यार्थी र विषयवस्तु बीचको अन्तरक्रियात्मक सम्बन्धलाई नै शिक्षण सिकाई भनिन्छ । यस्तो शिक्षण सिकाई क्रियाकलापको अन्तरक्रियामा विद्यालयका सबै सदस्यहरुले आ–आफ्नो भूमिका निर्वाह गरेका हुन्छन् । यही अन्तरसम्बन्धको समष्टिरुपलाई नै शिक्षण सिकाईको महत्वपूर्ण तत्व मान्न सकिन्छ ।


हरेक विद्यालयमा रहेका शिक्षक विद्यार्थीहरु नै त्यस विद्यालयका क्रियाशील सदस्यका रुपमा रहेका हुन्छन् । शिक्षा लिने र दिने क्रममा दुवैथरिको सक्रिय सहभागिता रहनु पर्दछ न किं कुनै एक पक्ष सक्रिय हुने र अर्को पक्ष सक्रिय नहुने स्थिति रहेमा शिक्षण सिकाई प्रभावकारी हुन सक्दैन । शिक्षण सिकाई प्रक्रियामा कसको भूमिका कस्तो हुने र कसले के कस्तो भूमिका निर्वाह गर्ने भन्ने कुराले नै सिकाई प्रक्रियालाई बढी प्रभावित पारेको हुन्छ । तसर्थ यसलाई अझ बढी प्रभावकारी बनाउनका निमित्त शिक्षकले आफ्नो अध्यापनमा विद्यार्थी केन्द्रीत विधिलाई जोड दिदै विद्यार्थी वर्गलाई नै बढी सक्रिय बनाउने वातावरण सृजना गर्नु पर्दछ ।


१ शिक्षक र विद्यार्थी बीचको सम्बन्ध :


विद्यालय तहको शिक्षण प्रक्रियमा सक्रिय सदस्यका रुपमा देखापर्ने शिक्षक र विदार्थी नै रहेका हुन्छन् । जुन अनुभव नै सिकाई हो । यसरी सिकाईलाई विद्यार्थीका बीचमा पुर्याउने क्रममा शिक्षक विविध क्रियाकलापमा सहभागी हुन्छन् भने विद्यार्थी वर्ग पनि पाठ्यपुस्तकभित्र समावेश गरिएका ज्ञान, सीप र क्षमतालाई आर्जन गर्न विभिन्न क्रियाकलापमा संलग्न रहेका हुन्छन् । शिक्षण सिकाईले विद्यार्थीमा चिन्तन मनन गर्ने सीपको विकास गर्न, उनीहरुमा रुचि र उत्साह जगाउन, योग्यता र क्षमताको विकास गर्न अनि, पाठ्यपुस्तक सम्बन्धी आवश्यक सूचना आदि संकलन गर्ने काममा ठूलो भूमिका निभाएका हुन्छन् । त्यसैले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने सम्बन्धमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको हुन्छ । शिक्षण सिकाई क्रियाकलापमा प्रयाप्त मात्रमा विद्यार्थी, विद्यालयको भौतिक सुविधा र समाजको वातावरण आदि भए तापनि सबैको परिचालन गर्ने र गराउने क्रममा शिक्षकको नै भूमिका निर्णायक रहेको हुन्छ ।


शिक्षक समाजको एक सचेत वर्ग हो । शिक्षण सिकाई प्रक्रियामा शिक्षकलाई नै बढी जोड दिन्छन् । शिक्षक समाजको दियो हो । शिक्षरुपी ज्ञानलाई प्रसारण गरी हाँक्ने रथ हो । अनि, राष्ट्रका लागि आवश्यक पर्नेजनशक्ति जस्तो दार्शनिक, वैज्ञानिक, समाजशास्त्री, अर्थविद, राजनेता आदि पैदा गर्ने व्यक्ति हो, शिक्षक । त्यसैले प्राचीन कालदेखि नै शिक्षकलाई देवताका रुपमा मान्ने गरिन्थ्यो ।अनि सफल मार्ग निर्देशकका रुपमा पनि । शिक्षक समग्र ज्ञानको खानी भएको हुनाले प्रारम्भिक अवस्थादेखि आजको परिवर्तित वर्तमान अवस्थासम्म ल्याई पुर्याउन पनि शिक्षकको नै अहम् भूमिका रहेको छ । तसर्थ, शिक्षकलाई इतिहासको वास्तविक निर्माता हो, भन्न सकिन्छ ।


शिक्षण सिकाईको केन्द्रबिन्दु भनेका विद्यार्थी वर्ग हुन् । उनीहरु बिना शिक्षारुपी ज्ञान आर्जन गर्न सम्भव छैन । सम्पूर्ण शिक्षा प्रणाली नै केवल विद्यार्थी वर्गका लागि मात्र सृजित गरिएका हुन्छन् । विद्यार्थी भएर नै शिक्षाको माग भएको हो । त्यसैले पनि शिक्षा क्षेत्रमा गरिने हरेक क्रियाकलापहरु तिनै विद्यार्थी वर्गको हित र उन्नतिका खातिर केन्द्रित रहेर गर्ने गरिन्छ । यस आधारमा पनि विद्यालयमा गरिने हरेक क्रियाकलाप र कार्यहरु गर्दा विद्यार्थीलाई नै केन्द्रबिन्दु बनाएर गर्नुपर्छ । विद्यालयमा कार्यरत सबै शिक्षकहरु केवल जागिर खानका लागि मात्र नभएर एक असल र सफल विद्यार्थी उत्पादन गर्न सक्षम हुन सक्नुपर्दछ । तबमात्र शिक्षण सिकाई प्रभावकारी बन्न सक्दछ ।


शिक्षण सिकाई क्रियाकलाप भनेको शिक्षक विद्यार्थी बीच रहने सम्बन्धको मूल कडी हो । शिक्षण सिकाईका सन्दर्भमा विद्यार्थीलाई केन्द्रबिन्दु बनाएर शिक्षणविधिलाई अपनाउनु पर्दछ । जसलेगर्दा शिक्षक र विद्यार्थी बीचको सम्बन्धलाई अझ बढी प्रभावकारी बनाउँदछ । कुनै पनि विद्यार्थी शुरुमा खाली दिमाग लिएर मात्र आएका हुँदैनन् र त्यसमा शिक्षकसँग सम्पर्क भएपछि उसले केही ज्ञान भरिदिने कामगर्दछ । विद्यार्थीले आफूले प्राप्त गरेको कुनै पनि नयाँ ज्ञानलाई आफ्नो पूर्वज्ञान र अनुभवका आधारमा जोडेर लिने गर्दछ । त्यसैले विद्यार्थी वर्गलाई शिक्षण सिकाई क्रियाकलापमा केवल उपभोगकर्ताका रुपमा मात्र लिइन हुँदैन, किनकिं स्वयम् तिनीहरु ज्ञानका मुहान हुन र सृष्टिकर्ता पनि ।


२ शिक्षक अभिभावक बीचको सम्बन्ध :


कुनै पनि विद्यालयमा शिक्षक र अभिभावक बीचको सञ्चार सम्पर्क गर्न तथा विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइ सीप अभिवृद्धि गर्नका लागि विद्यालयमा अभिभावकको सहभागितालाई बढाउनु आवश्यक छ । अनि, विद्यालयमा शिक्षक अभिभावक बीच समय समयमा अन्तरक्रिया गर्ने, विचारको मन्थन गर्ने आदि गर्नु पर्दछ । तबमात्र विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन सक्दछ । अझ विद्यालयमा पढ्ने हरेक बालबालिकाको उन्नति र प्रगतिका निमित्त शिक्षक अभिभावक बीचको त्रिकोणात्मक सम्बन्धले निम्न कुराहरुमा बढी प्रभाव पारेको हुन्


क) बालबालिकाको शिक्षण सिकाइमा :


कुनै पनि गाउँ समाजमा रहेको व्यक्तिलाई शिक्षा दिनुको मुख्य उद्देश्य आवश्यक जनशक्ति उत्पादन गर्नु हो । त्यसका लागि मुख्य स्थलका रुपमा विद्यालयहरु नै रहेका हुन्छन् । जहाँ बसेर शिक्षक र विद्यार्थीका बीचमा अन्तरक्रिया भै विद्यार्थी वर्गलाई उचित मार्ग निर्देशन गर्ने क्रममा शिक्षकहरु जिम्मेवार रहेका हुन्छन् । अनि, त्यति नै अभिभावकहरु पनि जिम्मेवार रहेका हुन्छन् । कुनै पनि संघसंस्थामा कार्यरत शिक्षकको एक्लो प्रयासले मात्र विद्यार्थीलाई सत्मार्गमा हिँडाउँन सकिदैन र शिक्षण सिकाइ प्रक्रिया समेत प्रभावकारी बन्न सक्दैन ।विद्यार्थी भनेको विद्यालयको परिसर अर्थात् शिक्षकको नजरमा केवल छ घण्टाको समयमात्र रहेका हुन्छन् । अनि, बाँकी समय अठार घण्टा त अभिभावकको समीपमा मात्रै हुन्छन् ।

बालबालिकालाई सही रुपमा शिक्षण सिकाइ क्रियाकलापमा सम्लग्न गराउने र सत्मार्गमा हिँडाउने क्रममा अभिभावकको भूमिका गहन रहेको हुन्छ । आफ्नो घरमा रहेको अवस्थामा बालबालिकाले के कस्ता कार्यहरु गरिरहेका छन् ।


यस आधारमा पनि बालबालिकालाई सही रुपमा शिक्षण सिकाइ क्रियाकलापमा सम्लग्न गराउने र सत्मार्गमा हिँडाउने क्रममा अभिभावकको भूमिका गहन रहेको हुन्छ । आफ्नो घरमा रहेको अवस्थामा बालबालिकाले के कस्ता कार्यहरु गरिरहेका छन् । आफ्नो गृहकार्य गर्ने रस्वाध्ययन गर्ने सवालमा आमाबाबुले समेत चिन्तन मनन गरी उनीहरुतर्फ आफ्नो दृष्टि पुर्याउन सकेको खण्डमा केही सघाउ पुग्न सक्दछ । तसर्थ, विद्यार्थी वर्गको ज्ञान आर्जन गर्ने क्रममा शिक्षक र अभिभावकको भूमिका समान रहेको हुन्छ ।


विद्यालयमा हरेक बालबालिकाको क्षमता रुचि अनुसारको वातावरण तय गरी शिक्षण गराउनमा शिक्षक र अभिभावक दुवै जिम्मेवार रहेका हुन्छन् । सामान्यतया घरमा राम्रो वातावरण प्रदान गर्नु अभिभावकको कर्तब्य हो भने विद्यालयमा आफ्ना बालबालिकाका लागि राम्रो वातावरण सृजना गर्नु शिक्षकको कर्तव्य हो । यसका साथै विद्यार्थीका लागि आवश्यक पर्ने भौतिक सामाग्रीहरु उपलब्ध गराइदिने, उनीहरुका अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिने, आफ्ना बालबालिकाको क्रियाकलापमा पलपल सचेत हुन अभिभावकको भूमिका रहन्छ । अनि, आफ्ना बालबालिकाको गृहकार्य गर्नेदेखि अन्य कार्यहरुमा समेत सरिक हुनका लागि शिक्षकले विद्यार्थीलाई मार्ग निर्देशन गर्न सक्नु पर्दछ ।
यसरी विद्यालयको समयमा मात्रै नभएर विद्यालय बाहिरको समयमा पनि शिक्षकहरु आफ्ना बालबालिकाको गतिविधिमा जिम्मेवार रहन सक्नु पर्दछ । अभिभावकहरु पनि आफ्नो घर परिवारमा मात्र सीमित नरही विद्यालयको समयावधी भित्र पनि जिम्मेवार रहन सक्नु पर्दछ । अनिमात्र विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुन सक्दछ ।


ख) विद्यार्थीको व्यवहार परिवर्तनका लागि :

घर परिवारमा रहदाको अवस्थामा उसले देखाउने क्रियाकलापका सन्दर्भमा र विद्यालयमा रहदाको अवस्थामा देखाउने क्रियाकलापका सम्बन्धमा पनि शिक्षक अभिभावक बीच बेलाबेलामा अन्तरक्रिया गरी आवश्यक रुपमा उनीहरुको व्यवहारमा केही सुधार गर्न सकिन्छ ।


हरेक बालबालिकाको बानी व्यवहारमा सुधार ल्याउन उनीहरुलाई चरित्रवान र कुशल नागरिक बनाउनका लागि पनि शिक्षक अभिभावक दुवैको सम्बन्ध हुनु आवश्यक छ । घर परिवारमा रहदाको अवस्थामा उसले देखाउने क्रियाकलापका सन्दर्भमा र विद्यालयमा रहदाको अवस्थामा देखाउने क्रियाकलापका सम्बन्धमा पनि शिक्षक अभिभावक बीच बेलाबेलामा अन्तरक्रिया गरी आवश्यक रुपमा उनीहरुको व्यवहारमा केही सुधार गर्न सकिन्छ । तर विद्यार्थीको आनीबानीसँग दुवैजना परिचित हुन सक्नु पर्दछ । उनीहरुको सुधारका निमित्त शिक्षक अभिभावक दुवै एकले अर्कोलाई भेटी एक आपसमा छलफल गर्ने, विचार मन्थन गर्ने आदि गरेर कहिलेकाही विद्यार्थीले देखाउने असामान्य प्रवृत्तिको समेत उपचार गर्नु पर्दछ । तसर्थ, पनि शिक्षक अभिभावक बीचको सम्बन्ध गहन रहिरहनु आवश्यक छ ।


विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो बालबालिकाले विद्यालयमा सिकेका ज्ञान र सीपका आधारमा घरमा कस्तोखालको व्यवहार गर्दछ भन्ने कुराको जानकारी केवल अभिभावकबाट मात्र प्राप्त गर्न सकिन्छ । अनि, उनीहरुको आचरण, आनीबानी, उन्नति र प्रगतिका बारेमा शिक्षक अभिभावक बीच समय समयमा विचारको आदानप्रदान हुन आवश्यक छ । यसले अभिभावकलाई बालबालिका कस्तो व्यवहार गर्ने हो भन्ने कुराको जानकारी हुन सक्दछ । अनि, उनीहरुले आफ्नो व्यवहारलाई समेत परिवर्तन गर्न सक्दछन् ।


ग) शैक्षिक वातावरण निर्माणमा :


सम्पूर्ण शिक्षण प्रक्रियाको केन्द्रबिन्दु भनेको नै विद्यार्थी हुन् । कुनै पनि गाउँ समाज र राष्ट्रको आवश्यकतालाई पूरा गर्नका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । त्यस आधारमा पनि विद्यार्थी वर्गका आवश्यकताहरु पूरा गर्नु पर्दछ । उनीहरुको स्तर रुचि र क्षमतालाई पहिचान गरी त्यस अनुरुपको शिक्षा दिनु शिक्षकको काम हो । अनि, सोही अनुरुपको शैक्षिक वातावरण सृजना गरिदिने काम अभिभावकको हो । त्यसैले पनि विद्यालयको समग्र शैक्षिक वातावरण तय गरिदिने कार्य शिक्षक र अभिभावक दुवै मिलेर गर्नु आवश्यक छ । यसरी विद्यालयको शैक्षिक वातावरण तय गर्न नत शिक्षक एक्लैले गरेर हुन सक्दछ, नत अभिभावकले मात्र ।


विद्यालयको शैक्षिक वातावरण अन्तर्गत विद्यालयमा कार्यरत योग्य, अनुभवी र लगनशील शिक्षक, भौतिक सुविधा, शैक्षिक सामाग्री तथा उपकरणको प्रयाप्तता, पुस्तकालयको व्यवस्था र प्रयोगशालाको समेत व्यवस्थालाई लिन सकिन्छ । यी सबै विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापका निमित्त आवश्यक रहन्छन् । यसकारण पनि विद्यालयको सहयोगका लागि अभिभावकलाई सक्रिय बनाई उनीहरुलाई जागरुक र क्रियाशील बनाउनमा पनि शिक्षकको अहम् भूमिका रहन्छ । शिक्षकले अभिभावकलाई विद्यालयको वातावरण सृजनागर्न, विविधखाले सहयोगका लागि समेत अनुरोध गर्नुपर्छ । अनि, अभिभावक वर्गले पनि विद्यालयलाई आवश्यक पर्ने भौतिक सामाग्री तथा उपकरणहरु जोड्नका लागि समेत उनीहरुको ठूलो भूमिका रहेको हुन्छ । यस आधारमा पनि विद्यालयको शैक्षिक वातावरण निर्माणका खातिर शिक्षक अभिभावक बीचको सम्बन्ध बलियो हुनु आवश्यक छ ।


घ) विद्यार्थी मूल्यांकन र परीक्षाको प्रयोग :


कुनै पनि संघसंस्था तथा विद्यालयमा जसरी शिक्षणसिकाइ क्रियाकलापका लागि शैक्षिक वातावरण सृजना गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध रहेको हुन्छ । त्यसैगरी विद्यार्थीको मूल्याङ्कन तथा परीक्षाफलको प्रयोगमा पनि शिक्षक र अभिभावक बीच सम्बन्ध स्थापना हुन सक्नु पर्दछ । शिक्षण सिकाइ क्रियाकलाप पश्चात विद्यार्थीले के कति उपलब्धी हासिल गर्न सके, निश्चित उद्देश्य प्राप्त गर्न सके वा सकेनन् आदिका निमित्त विद्यार्थी मूल्याङ्कन गरिन्छ । उनीहरुले विद्यालयमा गई आर्जन गरेको ज्ञानका आधारमा आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सके या सकेनन् आदि लेखाजोखा गर्ने काम पनि मूल्याङ्कनबाट गरिन्छ । यसरी मूल्याङ्कनबाट प्राप्त परिणामले उद्देश्यको पूर्ति हुन सक्यो वा सकेन । यदि उद्देश्य पूर्ति हुन नसकेमा के कति कारणले हुन सकेनन् आदि कारणहरु खोजी, ती कमजोरीलाई पत्ता लगाई त्यसको निराकरण गर्न पनि शिक्षक अभिभावक बीचको सम्बन्ध रहिरहनु आवश्यक छ ।

विद्यालयको पठनपाठन पश्चात विद्यार्थीले निश्चित समयावधिमा उसले जे जति ज्ञान र सीप हासिल गर्नुपर्ने हो, अर्थात् के कति प्राप्त गर्न सफल रह्यो भन्ने बारेमा जानकारी लिन परीक्षा र मूल्याङकन गरिन्छ । त्यसपछि प्राप्त नतिजाका आधारमा शिक्षक, विद्यार्थी र अभिभावकले प्रगतिको लेखाजोखा गर्नुपर्छ ।


विद्यालयको पठनपाठन पश्चात विद्यार्थीले निश्चित समयावधिमा उसले जे जति ज्ञान र सीप हासिल गर्नुपर्ने हो, अर्थात् के कति प्राप्त गर्न सफल रह्यो भन्ने बारेमा जानकारी लिन परीक्षा र मूल्याङकन गरिन्छ । त्यसपछि प्राप्त नतिजाका आधारमा शिक्षक, विद्यार्थी र अभिभावकले प्रगतिको लेखाजोखा गर्नुपर्छ । शिक्षकले पनि नतिजाका आधारमा विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा सुधारका निमित्त विश्लेषण गर्नु आवश्यक छ । अनि, यसको विवरण पनि शिक्षकले आफ्ना अभिभावक समक्ष पुर्याउन सक्नु पर्दछ । यसरी नतिजा प्राप्तका आधारमा आफ्ना बालबालिकाको उन्नति र प्रगतिका निमित्त शिक्षक र अभिभावक एक आपसमा बसी अन्तरक्रिया, छलफल गरी आ–आफ्नो विचार आदानप्रदान गर्नुपर्छ । यस आधारमा पनि हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षण सिकाइका निमित्त मूल्याङ्कन र परीक्षाको प्रयोगमा समेत शिक्षक अभिभावक बीच गहन सम्बन्ध रहन सक्नु पर्दछ ।


ङ) विद्यालयको भौतिक विकासमा :


विद्यालय भनेको समाजको अभिन्न अङ्ग हो । जहाँबाट विद्यार्थी वर्गको सर्वाङ्गीण विकास हुन सक्दछ । यो समाज शिक्षक र विद्यार्थीको साझा घर हो । कुनै पनि समाजमा विद्यालय स्वयम् आफै बन्दैन । यसलाई सुसज्जित र भरिपूर्ण बनाउनमा पनि शिक्षक अभिभावकको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । विद्यालयलाई आवश्यक पर्ने जमिन, भवन, कक्षाकोठा, फर्निचर तथा आवश्यक शैक्षिक सामाग्री आदिको लागि पनि समाजमा अभिभावकहरुबाट आवश्यक सहयोग पुर्याउनका निमित्त शिक्षकको अहम् भूमिका रहन्छ । शिक्षकले अभिभावक वर्गको मनलाई जित्नु पर्दछ भन्ने वातावरण तय गर्न सक्नुपर्छ । विद्यालय व्यवस्थापन समिति मार्फत समय समयमा शिक्षक अभिभावक बीच विद्यालयको भौतिक विकासका निमित्त होस् वा आफ्ना बालबालिकाको उन्नति र प्रगतिका निमित्त होस् एक आपसमा छलफल गर्ने, विचार मन्थन गरी भावना आदानप्रदान गर्ने बानी पनि बसाल्नु पर्दछ । त्यसैले समाजमा रहेका हरेक शिक्षक अभिभावकहरु बीच प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध रहिरहनु आवश्यक छ ।

विद्यालय व्यवस्थापन समिति मार्फत समय समयमा शिक्षक अभिभावक बीच विद्यालयको भौतिक विकासका निमित्त होस् वा आफ्ना बालबालिकाको उन्नति र प्रगतिका निमित्त होस् एक आपसमा छलफल गर्ने, विचार मन्थन गरी भावना आदानप्रदान गर्ने बानी पनि बसाल्नु पर्दछ ।


समग्रमा, भन्नुपर्दा कुनै पनि संघसंस्था तथा समाजमा स्थापित विद्यालयहरुको शैक्षिक तथा भौतिक वातावरण सृजना गर्न, शिक्षण सिकाई क्रियाकलापमा सुधार गर्न, विद्यालयको भौतिक विकास गर्न अनि, विद्यालयमा रहेका प्रत्येक विद्यार्थीको मूल्याङ्कन तथा परीक्षाबाट प्राप्त नतिजाका आधारमा विश्लेषण गरी त्यसलाई उपयोगमा ल्याउन समेत शिक्षक अभिभावक बीच गहन सम्बन्ध रहेको हुनुपर्छ । अन्यथा, कुनै पनि समाजमा विद्यालय मात्र स्थापना भएर प्रभावकारी शिक्षण सिकाई हुन सक्तैन । यसका लागि शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षण सिकाईमा सुधार हुन सक्छ । त्यसैले पनि समाजका हरेक विद्यालयका बालबालिकाको शिक्षण सिकाई क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि पनि शिक्षक, विद्यार्थी र अभिभावक बीच त्रिकोणात्मक सम्बन्ध रहिरहनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *