अभिभावकलाई शुल्क नतिर्न अनेरास्ववियु र नेविसंघको आव्हान

काठमाडौं/९ असार– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निजी विद्यालयहरुले संकटको बेला अभिभावकहरुसँग शुल्क उठाउन गरेको आव्हानको विरोध गरेका छन् ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले कोरोना कहरका कारण लकडाउनले गर्दा आम विद्यार्थी र अभिभावक चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात् शुल्क उठाउने निजी विद्यालय सञ्चालकहरुको घोर हामी निन्दा र भत्र्सना गर्ने उल्लेख छ । अनेरास्ववियुले सरकारी निर्णय विपरीत शुल्क उठाउन गरेको आव्हान तत्काल फिर्ता लिन निजी विद्यालयहरुको संगठन प्याब्सन र एन–प्याब्सनलाई चेतावनी दिएका छन् ।
अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला लकडाउनका कारण मुलुकमा झन्डै ९० लाख विद्यार्थी शिक्षालय जानबाट रोकिएका छन् । अझ विद्यालय तहमा कलिला बालबालिकाहरू पढ्ने भएकाले कोरोना कहरका दृष्टिले विद्यालय क्षेत्र झनै संवेदनशील छ । लकडाउन केही खुकुलो हुँदै गए पनि उक्त संवेदनशीलताका कारण शिक्षा क्षेत्र सबैभन्दा ढिलो खुल्नुपर्ने परिस्थिति विद्यमान छ । यस्तो विषम परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी तथा अभिभावकहरूले व्यहोरिरहेको संकटलाई पूर्ण रूपमा बेवास्ता गरी एकतर्फी रूपमा शुल्क उठाउने आह्वान आपत्तिजनक छ ।’
त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पनि प्रेस विज्ञप्ति जारी गर्दै निजी विद्यालयलाई शुल्क नबुझाउन अभिभावकलाई आव्हान गरेको छ । नेविसंघले शिक्षण संस्था नै सञ्चालन नभएको अवधिको शुल्क नतिर्ने अभिभावकलाई आव्हान गरेका हो । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शिक्षण संस्था नखुलेसम्म शुल्क नतिर्न विद्यार्थी, अभिभावकलाई आव्हान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *