अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन

काठमाडौं/२१ बैशाख–कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै २५ बैशाख सम्म नेपालमा लकडाउन जारी गरिएको छ । लकडाउन भएसँगै बैशाख महिनाबाट सुरु हुने नयाँ शैक्षिक सत्र समेत सुरु हुन सकेको छैन ।
बैशाख महिनामा नयाँ शैक्षिक सत्र सुरु गरी विद्यार्थी भर्ना गरिन्छ । लकडाउनका कारण विद्यार्थी भर्ना प्रक्रिया रोकिएको भएपनि कतिपय विद्यालयहरुले अनलाइनबाट भर्ना लिन थालेका छन् । विद्यालयहरुले अनलाइनबाट नतिजा प्रकाशनपछि भर्ना प्रक्रिया अघि बढाई कक्षा समेत अपग्रेड गरी पठनपाठन गराई रहेका छन् । सरकारले विद्यालयले आफ्नो अनुकुलता अनुसार नतिजा सार्वजनिक गर्न भनेको भएपनि भर्ना प्रक्रियाका बारेमा भने केही भनेको छैन ।
तर, कतिपय निजी विद्यालयहरुले अनुमति बिना नै अनलाइनबाट विद्यार्थी भर्ना गरिरहेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले अनलाइनबाट विद्यार्थी भर्ना प्रक्रिया सम्भव र व्यावहारिक नभएकाले कुनैपनि विद्यालयलाई अनलाइन विद्यार्थी भर्ना लिन निर्देशन दिए । प्याब्सन मातहातका कुनैपनि विद्यालयले अनलाइन भर्ना नलिने उनको भनाई छ । उनका अनुसार प्याब्सन मातहतका धेरै विद्यालयहरुले विद्यार्थीको वार्षिक परीक्षाको नतिजा भने अनलाइनबाट सार्वजनिक गरेको छ । प्याब्सनले विज्ञप्ति नै जारी गरी बैशाख १९ गतेसम्म नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
त्यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन–प्याब्सन) नेपालका अध्यक्ष ऋतुराज सापकोटाले पनि लकडाउनको समयमा अनलाइनबाट भर्ना नगरिएको जानकारी दिए । उनले लकडाउन खुलेर सामान्य अवस्थामा आएपछि मात्र विद्यालय सञ्चालन गरी भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *