काठमाडौ /२८ चैत्र
“गुरुब्र्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर : ।
गुरु : साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नम: ।”
हाम्रो धर्म शास्त्रमा उल्लेख भएको यो संस्कृत श्लेकले गुरुको महिमालाई दर्साउँछ । हिन्दु धर्म शास्त्रमा गुरुलाई आदर्श पुरुष मानिएको छ । ‘गुरु’ को ‘गु’ ले अन्धार र ‘रु’ ले तेज लाई जनाउँछ । ज्ञान रुपी प्रकाश दिएर अन्धारलाई हटाउने व्यक्ति नै गुरु हुन् । गुरुलाई अहिले शिक्षक शब्दले पनि सम्बोधन गरिने गरिएको छ । शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ ।
शिक्षक शब्द अंग्रेजी शब्द टिचरको नेपाली अनुवाद हो । शिक्षक त्यस्ता व्यक्ति हुन, जसले सिक्ने र सिकाउने प्रक्रियालाई सहजता र विशेषज्ञताका साथ गर्छन् । प्राचीन समयमा गुरु–शिष्यको सम्बन्ध पिता–पुत्रको जस्तो हुन्थ्यो । विश्वामित्र र द्रोणाचार्य यस्ता गुरु थिए, जसको चरणमा भगवानले पनि शिर झुकाउँने गरेको हामीले सुनेको छौं । यस्तै, महाभारत कथाका पात्र एकलब्यलाई उदाहरणीय शिष्यका रुपमा लिइन्छ । उनले गुरुलाई गुरु दक्षिण स्वरुप आफ्नो दाहिने हातको बूढी औंला काटेर चढाएका थिए । तर, वर्तमान समयमा शिक्षक र विद्यार्थीबीच यस्तो आदर्श सम्बन्ध देख्न पाइँदैन ।
पछिल्लो समय अरु कुनै पेशा नपाएपछि शिक्षक पेशा अँगाल्ने एक किसिमको होड नै चलेको छ भन्दा फरक नपर्ला ।
शिक्षक पेशालाई अहिले तल्लो दर्जाको पेशाका रुपमा लिनेहरुको पनि कमी छैन । अझ, सामुदायिक विद्यालयका शिक्षकहरुलाई त तलब खान कै लागि मात्र शिक्षक भएका हुन् भन्ने आरोप समेत लाग्ने गरेको छ । उनीहरुमा ज्ञान नभएको होइन, पढाउने कला मात्र छैन । बालकृष्ण समले भनेको श्लोकवद्ध वाक्य : “पढाउँछु भनी गर्व गर्नुहुन्छ भने गुरु, गएर एउटा चिल्लो ढुंगालाई पढाउँनुहोस् ।” यसबाट पनि प्रष्ट हुन्छ कि शिक्षकको काम केबल पढाउने मात्र होइन । विद्यार्थीलाई सक्षम बनाउने पनि हो ।
कुनै विषयमा ज्ञान हुनु र पोख्त हुनु मात्र शिक्षणका लागि योग्य हुनु होइन । शिक्षकमा पढाउने कला पनि हुनुपर्छ । शिक्षकले पढाउने प्रक्रिया पूरा गर्नका लागि मात्र पढाउने काम गर्नुहुँदैन । शिक्षकमा ज्ञान र पढाउने कला दुवै हुन आवश्यक छ । विलियम अर्थर वार्डले भनेका छन्, “कमजोर शिक्षकले भन्छ, असल शिक्षकले व्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।”
अहिलेको २१ औं शताब्दीमा विद्यार्थी शिक्षकभन्दा शक्तिशाली छन् । जुन शिक्षकहरुका लागि आफैमा एक चुनौतीको विषय पनि हो । प्रविधिको सहयोगले विद्यार्थीहरु आफैले नजानेका कुराहरु खोज्न र बुझ्न सक्छन् । यसले गर्दा कक्षाकोठमा उनीहरुले राम्रो सँग ध्यान दिँदैनन् । तर, शिक्षकले विद्यार्थीको ध्यान आफूतिर केन्द्रीत गर्न सक्ने गरी कक्षाकोठाको वातावरण तयार गर्नुपर्छ । पण्डितले पुराण बनेको जस्तो एकोहोरो पढाउने भन्दा पनि विद्यार्थीसँग संवाद गरी विषयलाई रोचक ढंगले फरक शैलीमा प्रस्तुत गर्न सक्ने क्षमता एक शिक्षकमा हुन आवश्यक छ ।
कक्षाकोठमा प्रवेश गरिसकेपछि त्यहाँको वातावरण कस्तो बनाउने भन्ने जिम्मा शिक्षकमा हुन्छ । विद्यार्थीहरुलाई कसरी प्रभावकारी शिक्षा दिने, उनीहरुले जाने कै कुरालाई पनि कसरी रोचक ढंगले सिकाउने बन्ने बारेमा शिक्षकले पूर्व योजना बनाउनुपर्छ । कक्षालाई कसरी रोचक र रमाइलो बनाउने त ?
शिक्षकले पढाउने कर्तव्य मात्र निर्वाह गरेर हुँदैन । पाठ्यक्रम सक्ने ध्यये मात्र राख्नु हुँदैन । पाठ्यक्रममा भएका कुरालाई विद्यार्थीहरुलाई कसरी दीर्घकालीन समय सम्म याद गर्न सक्ने गरी पढाउने भन्ने तर्फ पनि ध्यान दिन आवश्यक छ । पढाउँदै गर्दा पढाएका कुरा सँग सम्बन्धित उदाहरण दिने, व्यवहारिक कुरा सँग जोड्ने, चित्र वा नाटकका माध्यमबाट देखाउने, विद्यार्थी आफैलाई प्रयोगात्मक अभ्यास गर्न लगाउने गर्नुपर्छ । यस्तो गर्दा विद्यार्थीले रमाइलो मान्नुका साथै पढेको कुरालाई याद गर्न समेत सहयोग पुग्छ । डेभल प्याट्टकले भनेको छन्,“विद्यार्थीलाई थुप्रै फरक पार्न सक्ने उत्तेजना र प्रेमले भरिएको एक महान व्यक्ति शिक्षक हो ।”
जागिर खानकै लागि मात्र शिक्षण पेशा गर्नु हुँदैन । शिक्षण पेशा विद्यार्थीको भविष्यसँग जोडिएको छ । आफूमा भएको ज्ञान विद्यार्थीलाई दिने र विद्यार्थीबाट पनि कुरा सिक्ने सोच शिक्षकमा हुन आवश्यक छ । भौतिक शास्त्रका पिता अल्बर्ट आइस्टिनले भनेका छन्, “आफ्ना विद्यार्थीमा सिर्जनात्मक भावना र ज्ञानको आनन्द जगाउनु नै एक शिक्षकको महत्वपूर्ण गुण हो ।” त्यसैले विद्यार्थीलाई सिर्जनात्मक तरिकाले पढाउन सक्ने खुबी एक शिक्षकमा हुन आवश्यक छ । अनि मात्र शिक्षक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम हुन्छ । जब शिक्षक र विद्यार्थीबीच राम्रो सम्बन्ध स्थापित हुन्छ, तब मात्र कक्षाकोठाको वातावरण पठनपाठनका लागि योग्य हुन्छ । यस्तो हुँदा मात्र शिक्षकले पढाउन सक्छन् भने विद्यार्थीलेराम्रो सँग पढ्न ।
यसैगरी, शिक्षकले अर्को ध्यान दिनुपर्ने कुरा भनेको विद्यार्थीहरुको मनोवैज्ञानिक पक्ष हो । हरेकमा आ–आफ्नै रुची र खुबी हुन्छ । सबैमा एउटै खालको सोच र क्षमता हुँदैन । जसलाई ध्यानमा राखी शिक्षकले सोही अनुसार व्यवहार गर्नुपर्छ । शिक्षकले कहिले पनि विद्यार्थीबीच विभेदकारी व्यवहार गर्नुहुँदैन । विद्यार्थीहरुको मनोविज्ञान बुझेर सोही अनुरुप प्रस्तुत हुन सक्ने खुबी शिक्षकमा हुन जरुरी छ । ब्राण्ड हेनरीले भनेका छन्, “एउटा असल शिक्षकले आशा जगाउँछ, कल्पना उद्दिप्त गर्छ र सिकाइमा बिस्तारै प्रेम भर्छ ।” हेनरीले भने जस्तै शिक्षकले विद्यार्थीमा आशा जगाइ, सिकाइमा प्रेम भर्न सक्नुपर्छ ।