अभिभावकले बच्चालाई कस्तो व्यवहारगर्ने ?


काठमाडौं/१४ चैत–अहिले अधिकांश अभिभावक व्यस्त हुन्छन् । जागिरे जीवनका कारण अभिभावकको व्यस्तता पनि बढ्दै गईरहेको छ, जसको नकारात्मक प्रभाव बालबालिकामा देखिदै गईरहेको छ भन्दा बेठिक नहोला । बालबालिकाहरुले अभिभावकबाट पाउनु पर्ने सामिप्यता पाएका छैनन् । बालबालिका धेरै समय अभिभावकसँग बिताउन चाहान्छन् । आफ्ना कुराहरु अभिभावकलाई भन्न चाहान्छन् । तर, एकातिर व्यस्तताका कारण अभिभावकहरुलाई उनीहरुको कुरा सुन्ने फुर्सद हुँदैन भने अर्कोतिर रुची पनि । यसले अभिभावक र बालबालिकाबीच दूरी पैदा गर्छ ।
एकल परिवारमा बस्न रुचाउने अहिलेको समाजका कारण पनि बालबालिकाहरुले अभिभावकबाट पाउनु पर्ने माया ममता पाउन सकेका छैनन् । यसले बालबालिकाहरुको व्यवहार र मानसिकतामा नकारात्मक प्रभाव पर्दै गईरहेको छ । जसतर्फ अभिभावकको ध्यान पुग्न सकेको छैन । अभिभावकले बालबालिकालाई गर्ने व्यवहारले प्रयत्क्ष वा अप्रत्यक्ष रुपमा असर पार्छ । त्यसैले अभिभावकले बालबालिकासँग कस्तो व्यवहार गर्ने भन्ने कुरामा विचार पु¥याउन आवश्यक छ ।
बच्चाका लागि साथी बन्ने
अभिभावक बच्चाका लागि साथी बन्नुपर्छ । अभिभावकको व्यस्त जीवनशैलीका कारण बालबालिकाहरु एक्लै बस्ने, एक्लै रमाउने, एक्लै खेल्ने कुरामा अभ्यस्त हुन बाध्य छन् । उनीहरु कसैसँग खुलेर घुलमिल हुन चाहादैनन् । अभिभावकलाई यो व्यवहार सामान्य लाग्न सक्छ । तर, हुर्किदै गएपछि त्यो समस्या बन्न पुग्छ । त्यसैले, बालबालिकाका अगाडि प्रस्तुत हुँदा अभिभावक कम, साथी बढी भएर प्रस्तुत हुनुपर्छ । उनीहरुको साथी बनि खेल्दै, प्रतिस्पर्धा गर्दै, नोकझोक गर्दै एकअर्कासँग समय बिताउने कोसिस अभिभावकले गर्नुपर्छ ।
बच्चासँग समय बिताउने
व्यस्तताका कारण धेरै अभिभावकहरुले बालबालिकाहरुसँग समय बिताउन पाउँदैनन् । काम र करियरलाई प्राथमिकता दिँदा अभिभावकले बालबालिकासँग समय बिताउने मौका पाएका छैनन् । बालबालिकाकै भविष्य र परिवारको खुसीका लागि भन्दै मरिहते गरी कामधन्दा र व्यवसायमा समर्पित हुन्छ । बालबालिकाका लागि भन्दै तपाईले मेहेनत गरेको भएपनि उनीहरुलाई तपाईको सुख–सुविधा भन्दा पनि सामिप्यता चाहिन्छ । तपाईको समय चाहिन्छ । बालबालिकाहरु भौतिक साधनमा भन्दा आमाबुबाको साथमा खुसी हुन्छन् । उनीहरुलाई भौतिक आनन्द भन्दा पनि अभिभावकको समय चाहिन्छ । अभिभावकहरु काम र करियरको पछि मात्र दौड्दा बालबालिकाहरुले अभिभावकबाट पाउनु पर्ने स्पर्श पाईरहेका छैनन् । पक्कैपनि, तपाई आफ्ना बालबालिकालाई लागि समय दिन चाहानु हुन्छ । समयको अभाव, कामको व्यस्ता अनि जिम्मेवारी र उत्तरदायित्व आदि यवात् कारण गर्दा सकिरहनु भएको छैन । तर, अभिभावक भईसके पछि कार्य व्यस्तताका बीचमा पनि बच्चाका लागि समय निकाउन सक्नुपर्छ । तपाई सोच्नु होला, खाना सँगै खान्छौ, राती घरमै सुत्छौं । बालबालिकाका साथ मै त छौं । यो महत्वपूर्ण प्रश्न हो । सँगै खाना खानु, राती घरमै सुत्नु, बालबालिकासँग समय बिताउनु होइन । होला, तपाईले घरमा धेरै समय बिताउनु भयो । तर, त्यो समय बालबालिका खातिर तपाईले दिनु भएको समय होइन । तपाईले बालबालिकाका लागि दिने समय भनेको उनीहरु सँग हेलमेले हुने, संवाद गर्ने, उनीहरुको कुरा सुन्नु हो । उनीहरुसँग एकछिन सँगै खेल्ने, उनीहरु जे कुरामा रुची गर्छन्, त्यही गरेर समय बिताउने । जागिर गर्ने अभिभावकले अफिसपछिको समय बालबालिकाका लागि भनि छुटाउने की ?
बच्चाबाट आफ्नो आकांक्षा पूरा गर्न नखोज्ने
धेरै अभिभावकको चाहना हुन्छन् । आफूले पूरा गर्न नसकेको आकांक्षा बालबालिकाहरुले पूरा गरुँन । यदि तपाई गायक÷गायिका बन्न चाहानुहुन्थ्यो तर, सक्नु भएन । तपाई राम्रो शिक्षक बन्न चाहनुहुन्थ्यो तर, हुन सक्नु भएन । यस्तो अवस्थामा अभिभावकहरु आफ्ना अधुरा इच्छा र चाहना छोराछोरीले पूरा गर्नुपर्छ भन्ने सोच पाल्छन् । आफूले पूरा गर्न नसक्केको इच्छा÷चाहना छोराछोरीले पूरा गरोस् भन्ने आकांक्षा राख्नु एक किसिमले स्वभाविका हो । तर, यसले बालबालिकाको इच्छा, चाहना, क्षमता र खुबीमा अंकुस लगाइदिन्छ र बालबालिकाका अभिभावकको चाहना अनुसार अघि बढ्छन् । यसो गर्दा बालबालिकाले आफ्नो रुची, क्षमता र इच्छा अनुसारको क्षेत्रमा भविष्य बनाउन सक्दैनन् र आफ्नो क्षमता गुमाउँछन् । आफूलाई इच्छा नभएको काम गर्दा मन पनि लगाउन सक्दैन भने जीवनमा सफलता प्राप्त गर्न उनीहरुलाई गाह«ो हुन्छ ।
आत्मनिर्भर बनौं
अभिभावकले बालबालिकालाई आत्मनिर्भर बनाउनुपर्छ । बालबालिकालाई आफ्नो कामका लागि अरुमा निर्भर रहने बानी बसाउनु हुँदैन । उनीहरुले एक्लै गर्न सक्ने काम उनीहरुलाई नै गर्न दिनुपर्छ । कापी– किताब मिलाउने, आफ्नो पहिरन लगाउने, हातखुट्टा धुने, खानेकुरा खाने, खेलौना मिलाउने, सामान मिलाउने जस्ता सहज र सरल काम बालबालिकालाई आफै गर्न दिनुपर्छ । यसो गर्दा उनीहरुलाई आफ्नो काम आफै गर्नुपर्छ भन्ने सोचको विकास हुनुका साथै श्रमको महत्व बुझ्छन् । यसको अर्को फाइदा भनेको बालबालिकाको शारिरीक विकासमा समेत सहयोग पुग्छ ।
डर नदेखाउने
प्रायः अभिभावकहरुले बालबालिकाले भनेको मानेनन् भने भूत आयो, गुजी आयो, जोगीले लान्छ, पागल आयो, पुलिस तिमीलाई लिन आयो भनेर डर देखाउने÷तर्साउने काम गर्छन् । अभिभावकको यस्तो उपाय बालबालिका सानो छँदा प्रभावकारी समेत भएको छ । तर, यसले बालबालिकमा दीर्घकालीन मनोवैज्ञानिका असर पु¥याउँछ । उनीहरुको विकास हुँदै गरेको अवचेतन मस्तिष्कमा उक्त कुराले डेरा जमाउँछ र बालबालिका ठुलो हुँदै जाँदा त्यसले असर पार्छ । तपाईले जसरी उनीहरुको बारेमा गलत प्रचार गर्नुभएको छ, त्यही छाप बालबालिकामा पर्छ र उनीहरु त्यस्ता व्यक्तिलाई देख्दा परैबाट डराउने र भाग्ने काम गर्छन् । त्यस्ता व्यक्तिलाई लिएर उनीहरुको मनमा नकारात्मक भ्रम हुन्छ, जुन हामीले सानोमा उनीहरुलाई तर्साउनका लागि भन्ने गरेका हुन्छौं । त्यसैले, बालबालिकालाई डर देखाउने र तर्साउने काम अभिभावकले कहिले गर्नुहुँदैन । उनीहरुलाई साहसी हुन सिकाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *