विद्यालय तहको पाठ्यक्रम परिवर्तन हुने

Image result for राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र
पाठ्यक्रम विकास केन्द्र


काठमाडौं/४ मंसिर–राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि विद्यालय तहको पाठ्यक्रम परिवर्तन गरी नयाँ लागू गर्ने भएको छ ।
नयाँ पाठ्यक्रमअनुसार कक्षा १ देखि ३ सम्म ५ वटा विषय अध्यापन गर्नुपर्ने हुन्छ । केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले भने,“नेपाली, अंग्रेजी, मेरो सेरोफेरा र गणित विषयलाई एकीकृत पाठ्यक्रम बनाइएको छ भने एउटा विषय मातृभाषा वा स्थानीय विषयको हुनेछ, जसको निर्माण गाउँपालिका वा नगरपालिकाले गर्ने छ ।”
त्यस्तै, कक्षा ४ देखि ८ को पाठ्यक्रममा मानव मूल्य शिक्षा विषय थप गरिएको छ । हाल कक्षा ६ देखि ८ सम्म पढाई हुँदै आएको नैतिक शिक्षालाई नै मानव मूल्य शिक्षा बनाइएको हो । यसैगरी, कक्षा ६ देखि ८ सम्म अध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधि विषयलाई राष्ट्रिय पाठ्यक्रमबाट हटाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ ।
यस्तै, आठ वटा विषय पढाई हुँदै आइरहेको कक्षा ९ र १० मा अब विद्यार्थीले ७ वटा विषय मात्र पढ्नुु पर्ने भएको छ । केन्द्रका अनुसार अनिवार्य विषयका रुपमा पढाई हुँदै आएको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय हटाई ७ वटामा झारिएको हो । विद्यार्थीहरुले ऐच्छिक विषयका रुपमा स्वास्थ्य, जनसंख्या र वातावरणमध्ये कुनै एक रोज्न सक्ने केन्द्रको भनाई छ । नयाँ पाठ्यक्रममा अनिवार्य विज्ञान विषयलाई विज्ञान तथा प्रविधिक विषय बनाइएको छ ।
भट्टराईका अनुसार कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय थप गरिएको छ भने कक्षा १२ मा जीवनोपयोगी शिक्षा समवेश गरिएको छ । कक्षा ११ र १२ मा ६ वटा विषय अध्यापन हुने बताउँदै उनले भने,“आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा एकल पथीय पाठ्यक्रम लागू हुने छ ।” नयाँ पाठ्यक्रममा कक्षा १०, ११ र १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यस्तै, पूर्णांक प्रणाली हटाई क्रेडिट आवर लागू गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *