कोरोनाबाट बच्न विद्यार्थीको ज्वरो नाप्दै विद्यालय

काठमाडौं/२९ फागुन–विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यालयहरुले सतर्कता अपनाउन थालेका छन् ।
कोरोनाको बढ्दै गएको जोखिमलाई ध्यानमा राखी विद्यालयहरुले विद्यार्थीको ज्वरो मापन गरेर मात्र विद्यालयमा प्रवेश गराउन थालेका हुन् । काठमाडौंको भीएस निकेतन स्कुलले आफ्ना विद्यार्थीहरुको ज्वरो नापेर मात्रै विद्यार्थीहरुलाई विद्यालयमा प्रवेश गराउँछ । विद्यालयले विद्यार्थीहरुको ज्वरो नाप्नका लागि इन्फारेड थर्मोमिटरको प्रयोग गरेको छ ।

ज्वराे नाप्दै भीएस निकेतन स्कुलका विद्यार्थी

विद्यालयकी प्रिन्सिपल संगिता श्रेष्ठले विद्यालयका पाँच वटै ब्लकमा इन्फारेडको प्रयोग गरी विद्यार्थीहरुको ज्वरो चेक गरेर मात्र प्रवेश गराउने गरेको बताइन् । शरीरको तापक्रम बढी भएका इन्फारेड थर्मोमिटरमा रातो संकेत देखिने बताउँदै उनले भनिन्,“रातो संकेत देखिएमा सम्बन्धित विद्यार्थीलाई उपचारका लागि पठाइन्छ ।” विद्यालयले ज्वरो मात्र नाप्ने होइन । कोरोनाको जोखिमबाट बच्नका लागि सेनिटाइजरको समेत व्यवस्था गर्नुका साथै विद्यार्थी र अभिभावकहरुका लागि सचेतनामूलक कार्यक्रम समेत गरेको छ ।

भीएस स्कुलकाे बाथरूममा राखिएकाे ह्यान्ड सेनिटाइजर

त्यस्तै, पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीले आफ्ना विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई कोरोना भाइरस तथा अन्य भाइरसहरुबाट सुरक्षित राख्न विद्यालयका दुवै भवनहरुमा रेजर थर्मोमिटरबाट ज्वरो मापन गर्न थालेको छ । विद्यालयले दक्ष जनशक्तिको प्रयोग गरी विद्यार्थी, शिक्षक तथा विद्यालय भ्रमण गर्ने अभिभावकहरुको हरेक दिन नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । विद्यालयले यसबाट विद्यालयको स्वस्थ वातावरणलाई कायम गर्ने अभियानमा थप टेवा पुुगेको जनाएको छ ।

ज्वराे नाप्न नेक्सस स्कुलमा लामबद्ध भएका विद्यार्थी


विद्यालयका प्रिन्सिपल आर.बी. कटुुवालले यो अभियानले विद्यार्थीहरु निर्धक्कसँग अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गरेको बताए । यदि कोही विद्यार्थीहरुमा ज्वरो भेटिएमा तत्काल अभिभावकलाई सम्पर्क गरी स्वास्थ्य संस्था पठाइने उनको भनाई छ । कोरोना संक्रमणको त्रासमा सयौं विद्यार्थीहरुको अध्ययनको अधिकार हनन गर्न नहुने बताउँदै उनले भने,“रेजर थर्मोमिटरको प्रयोगले विद्यार्थीहरुले भयरहित वातावरणमा शिक्षा आर्जन गर्न सहयोग पुुगेको छ ।”

यता, काठमाडौको बुढानिलकण्ठमा रहेको जोसेप स्कुलले पनि विद्यार्थीहरुको ज्वरो जाँचेर मात्र विद्यालयमा प्रवेश गराउन थालेको छ । विद्यालयका भाइस प्रिन्सिपल दिपक अधिकारीले कोरोना भाइरसले विश्वलाई आतंकित बनाई रहेको अवस्थामा विद्यार्थीहरुलाई सतर्कता गराउने यस्तो गरेको बताए । कोरोनाका कारण विद्यार्थीको पढाई र परीक्षामा मानसिक असर परेकाले ज्वरो नाप्दा म ठिक छु भन्ने विद्यार्थीहरुले थाहा पाउने उनको भनाई छ । विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मका सबै विद्यार्थीको ज्वरो नापेको बताउँदै उनले भने,“अभिभावकबाट पनि राम्रो प्रक्रिया आएको छ ।”

Image may contain: 2 people, people sitting and child
कक्षाकाेठामा ज्वराे मापन गदै जाेसेफ स्कुलका विद्यार्थी

विद्यालयहरुले भयरहित र म ठिक छु भन्ने कुरा विद्यार्थीहरुलाई महसुुस गराउन ज्वरो नाप्ने विधि सुरु गरेका हुन् । कोरोना संक्रमणबाट विश्वभर एक लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने झण्डै ३५ सय जनाको मृत्युु भइसकेको वर्तमान अवस्थामा विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी विद्यालयले गरेको यो काम अनुशरणिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *