नजिकिँदै गरेको एसईई परीक्षाका लागि विद्यार्थीले गर्नुपर्ने पूर्वतयारी

काठमाण्डौं/२८ फागुन– एसईईको परीक्षा नजिकिंदै छ । चैत ६ गतेबाट सुरू हुन लागिरहेकोे एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ जना परीक्षार्थीहरू सहभागी हुने भएका छन् ।
यो वर्षको एसईई परीक्षामा नियमतितर्फ सामान्य विषयमा ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिक धारमा ९ हजार ५ सय ९ जना विद्यार्थी र ग्रेडबृद्धितर्फ सामान्य विषयमा १६ हजार २ सय ४२ र प्राविधिक धारमा १ सय ४९ विद्यार्थीहरूले परीक्षा दिने भएका छन् । प्रतिशतको आधारमा श्रेणी छुट्ट्याई प्रतिस्पर्धात्मक मूल्याङ्कन प्रणालीलाई हटाएर २०७२ सालको एस.एल.सी. परीक्षादेखि अक्षराङ्क (ग्रेडिङ) प्रणालीको आधारमा नतिजा प्रकाशित गर्ने व्यवस्था गरिएको चार वर्ष भईसक्यो । यो प्रणाली केही सरल र धेरै प्रतिशत विद्यार्थीको हितमा भएको देखिन्छ । धेरै जसो विद्यार्थी एसईई परीक्षामा अनुत्तीर्ण हुने समस्याको विकल्पको रूपमा यस्तो ग्रेडिङ प्रणालीलाई अवलम्बन गरिएको हो । पाश्चात्य देशहरूको शिक्षा प्रणालीमा यस्तो ग्रेडिङ सिस्टम धेरै वर्ष अगाडि देखि नै लागू हुँदै आईरहेको छ । यसबाट विद्यार्थीहरूले उच्च शिक्षा पढ्न चाहेको सम्बन्धित विषयको ग्रेडिङ अनुसार भर्ना हुन पाउने मौका समेत प्रदान गरिएको देखिन्छ ।
नजिकिँदै गरेको एसईई परीक्षाका लागि विद्यार्थीले गर्नुपर्ने पूर्वतयारी
परीक्षा एक संवेदनशील विषय हो यो भाग्यमा भर पर्ने विषय होईन । तसर्थ, विद्यार्थीले यसलाई हेलचेक्याईं नगरी अत्यन्त महत्वका साथ गहन अध्ययन गरी राम्रो अङ्क तथा ग्रेड प्राप्त गर्नसक्ने गरी बढी मिहेनत गर्नुपर्छ । एसईई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूले विशेष तयारीका साथ लाग्नुपर्छ । जसबाट राम्रो नतिजा प्राप्त गर्न सकियोस् ।

यसका लागि केही सुझावः
१. अध्ययनमा आत्मविश्वास, जाँगर र लगनशीलता हुनुपर्छ । साथसाथै, प्राविधिक सीपको सही सदुपयोग गर्दै प्रभावकारी रूपमा लेखन तथा अध्ययन गर्नुपर्छ ।


२. विभिन्न विषयको नोट, बुक र गाइड आदि मात्र धेरै पढेर परीक्षामा राम्रो सफलता प्राप्त गर्न सक्छु भन्नु गलत धारणा हो । पढेका कुरालाई बुँदागत रूपले लेख्ने, प्रयोगात्मक रूपले सम्झने, साथीभाइसँग छलफल गर्ने गर्नाले पढाइलाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ ।


३. भाषा, गणित जस्ता विषय पढेर भन्दा लेखेर अभ्यास गर्नु बढी प्रभावकारी हुन्छ । वर्षभरि पढेको पाठलाई राम्रोसँग तयारी गरी परीक्षा दिने हो भने निश्चित रूपले परीक्षामा राम्रो अंक प्राप्त गर्न सकिन्छ ।


४. घोटिएर मात्र पढ्ने गर्नु हुँदैन । समय–समयमा मनोरञ्जन क्रियाकलाप पनि गर्नुपर्छ । खेलकुद, मनोरञ्जन कार्यले मस्तिष्कलाई ताजा बनाईने हुँदा पनि यस्तो कार्यमा पनि रूची राख्ने गर्नुपर्छ । पढाईलाई सन्तुलिन रूपमा अगाडी बढाउनुपर्छ ।


५. विद्यार्थीले कम्तिमा पनि ६ घण्टाको पूर्ण समय सुत्नका लागि छ्ुट्याउनुपर्छ । राम्रो निदाईले दिनभर थाकेको शारीरिक तथा मानसिक अवस्थालाई तन्दुरूस्त बनाउन मद्दत गर्दछ । त्यसैले बिहान चाँडै ४ बजे नै उठेर अध्ययन गर्दा दिमागले स्मरण गर्न सकिन्छ ।


६. मानव मस्तिष्कले एकैचोटी सबै कुरालाई सम्झन सक्तैन । मस्तिष्कले एकैपटक धेरै विषयवस्तुका कुराहरू दीर्घकालीन रूपमा ग्रहण गर्न असमर्थ हुन्छ । तसर्थ, पाठका महत्वपूर्ण नोटहरूलाई बुँदागत रूपमा तयार गरी ती बुँदालाई स्मरण गर्दै जानुपर्छ । यसले परीक्षामा ठूलो सहयोग पुर्याउँछ ।

परीक्षाको समयमा परीक्षाहलमा पुगेपछि निम्न कुरालाई ध्यानमा राखी परीक्षा लेखन कार्य गर्नुपर्छ :
१. परीक्षाको तयारी गर्दा परीक्षार्थीले पाठ्यक्रम र पाठ्यपुस्तकले तोकिएको विषयवस्तुको घेराभित्र रहेर तयारी गर्नुपर्छ ।


२. परीक्षामा प्रश्न राम्रोसँग पढेर मात्र उत्तर लेख्ने कार्य सुरु गर्नुपर्छ । प्रश्नको निर्देशन अनुसारको जवाफ लेखिएन भने समयको बर्बाद मात्र हुन जान्छ । त्यसैले कुन प्रश्नले कस्तो उत्तर खोजेको छ ,त्यसको पहिल्यै सोचेर मात्र लेखन कार्य सुरु गर्नुपर्छ ।


३. परीक्षा हलमा जाँदा ढुक्क र आनन्दकासाथ स्थिर मन गरेर प्रवेश गर्नुपर्छ । जो आत्मविश्वासकासाथ नडराई परीक्षामा संलग्न हुन्छ, त्यसले परीक्षामा राम्रो सफलता प्राप्त गर्न सक्छ ।


४. परीक्षाको समयमा प्रवेशपत्र तथा उत्तरपुस्तिकाको प्रथम पेजमा दिएका निर्देशन राम्रोसँग पढ्नुपर्छ र सोही निर्देशन अनुसार नै उत्तरपुस्तिकाको प्रथम पेजमा भर्नुपर्ने सबै कुरा केरमेट नगरी स्पष्टसँग भर्नुपर्छ ।


५. परीक्षाका लागि सही कलमको छनौट गर्नुपर्छ र आफूलाई चाहिने प्रवेशपत्र, ज्यामितीबक्स, क्यालकुलेटर आदि सामान आफैले साथमा लिएर जानुपर्छ ।


६. परीक्षामा परीक्षकहरूले थोरै समयमै उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुँदा परीक्षामा कापी केरमेट नगरी सफा र स्पष्टसँग उत्तर लेख्नुपर्छ । यदि मिलेन भने हल्का धर्साले काट्ने गर्नुपर्छ ।


७. जानेको प्रश्न पहिले नै गर्नुपर्छ, यसले समयको नोक्सान हुन पाउंदैन । सबै प्रश्न भ्याउने गरी परीक्षामा लेख्नुपर्दछ ।


८. नेपाली, अङ्ग्रेजीजस्तो भाषाविषयको परीक्षामा पहिला व्याकरणको प्रश्न सक्याएर मात्र अरू प्रश्नको उत्तर लेख्नु बढी बुद्धीमानी हुनेछ ।


९.गणित, भूगोल विज्ञानजस्तो चित्र आदि बनाउनुपर्ने विषयमा सिसाकलम प्रयोग गर्नुपर्दछ । उत्तर पुस्तिकामा घटीमा डेढ इञ्चको मार्जिन राख्नु अनिवार्य हुन्छ ।


१०.कुनै प्रश्नको उत्तर राम्रो नआएपनि केही लेख्ने प्रयास गर्नुपर्छ । परीक्षामा कुनै पनि प्रश्न छोड्नु हुँदैन ।

अन्तमा, एसईईका सम्पूर्ण परीक्षार्थी भाईबहिनीहरूलाई खबर एजुकेशनको तर्फबाट सफलताको हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *