शिक्षक महासङ्घको आक्रोश : शिक्षकलाई तलब नदिनु संवेदनहिनताको पराकाष्ठा

काठमाडौँ /१८ फागुन – लामो समय सम्म सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका तथा सर्लाही जिल्लाका हरिपुरवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले शिक्षकलाई तलब नदिनु संवेदनहिनताको पराकाष्ठा भन्दै नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण गराएको छ । यो आर्थिक वर्षको साउन यता शिक्षकले तलब नपाएको भन्दै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।


विज्ञप्तिमा भनिएको छ “सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका तथा सर्लाही जिल्लाका हरिपुरवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक–कर्मचारीले २०८० श्रावण महिना पछि तलब भत्ता नपाएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यतिका महिनासम्म आफ्नो पारिश्रमिक प्राप्त नगर्दा शिक्षक– कर्मचारीले ब्यहोर्नु परेको पीडाप्रति सम्बन्धित पालिकाले देखाएको संवेदनहिनता आफैमा गैर जिम्मेवारीपनको पराकाष्ठा हो । यो अन्याय विरुद्ध भइरहेको शिक्षक कर्मचारी आन्दोलनप्रति ने।शि।महासङ्घ ऐक्यबद्धता प्रकट गर्दछ ।”


साथै स्थानीय तहका निर्वाचित नेतृत्वका बीचमा हुने आपसी द्वन्दका कारण समयमा पालिका परिषद् सम्पन्न हुन नसक्दा देशका विभिन्न पालिकामा पटक पटक यो अवस्था सिर्जना भएको देखिएको भनाई छ ।


आगामी दिनमा यस्तो हुन नदिन शिक्षक– कर्मचारीको तलब भत्ता निकासाका लागि गाउँ र नगर परिषद्को निर्णय हुनु नपर्ने नीतिगत प्रबन्ध गर्न समेत नेपाल सरकारसँग महासङ्घको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *