काठमाण्डौं/२२ फागुन– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत मंगलबार कोरोना भाइरसको संक्रमणका कारण मुलुकभरिका विद्यालयहरूलाई शैक्षिक क्षेत्र २०७६ को कक्षा १ देखि ९ सम्मको परीक्षा आगामी चैत ५ गतेभित्र लिन निर्देशन दिएको छ ।
शैक्षिक सत्रको अन्त्यसँगै वार्षिकोत्सव र अभिभावक दिवस मनाउने तयारीमा रहेका अधिकांश विद्यालयहरूले कोरोना भाइरसको सन्त्रासका कारण सबै कार्यक्रम स्थगित गरिसकेको छ । संसारभर नै फैलिरहेको कोरोना भाइरसलाई मध्यनजरमा राख्दै वार्षिकोत्सव तथा अन्य कार्यक्रम स्थागित गर्न प्याब्सन र नेसनल प्याब्सनले पनि विद्यालयहरूलाई सूचित गरिसकेको छ ।
विद्यालय क्षेत्र बढी मात्रामा सर्वसाधारण आवतजावत हुने क्षेत्र भएकाले विद्यालयहरू बढी संवेदनशील र सचेत हुनुपर्ने भन्दै निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नं.१ ले विद्यालयहरूमा हुन लागिरहेको कुनै पनि वार्षिकोत्सव तथा अन्य कार्यक्रमलाई समेत स्थागित गर्न आग्रह गरिसकेको छ । कार्यक्रमहरूमा ठूलो संख्यामा जनसमुदायको उपस्थिति र भिँडभाँड रहने हुँदा संक्रमणका हिसाबले त्यस्ता ठाउँ बढी जोखिमपूर्ण हुने भएकाले सो कुरालाई ध्यानमा राखी स्थागित गर्न लगाइएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालका अधिकांश विद्यालयहरूले सतर्कता अपनाउन र विद्यार्थीहरूलाई त्यसको त्रास र भ्रमको पछि नलागि निश्चिन्त रूपले परीक्षा दिन विद्यालयले सम्पूर्ण विद्यार्थीहरूलाई सुझाव समेत दिएका छन् ।
भि.एस निकेतनका प्रिन्सिपल संगीता श्रेष्ठका अनुसार कोरोना भाईरसको संन्त्रासका कारण तोकिएको मितिभन्दा अगावै परीक्षा सरेकाले विद्यार्थीहरूमा केही मानसिक असर परेको र विद्यार्थीहरूले सोचेको समयभन्दा अगाडि नै परीक्षा हुन गईरहेकाले पढाईको चापका साथै मानसिक तनाव पनि बढेको बताईन । निश्चित अवधि मै परीक्षाको तयारी गर्नुपर्ने भएकाले अध्ययनको समय पनि घटेको उनले जानकारी दिएकी छिन । विद्यालयले पनि सम्पूर्ण परीक्षाहरू चैत्र ५ गते भित्र नै सम्पन्न गरिसक्नुपर्ने भएकाले गर्दा कामको चाप बढेको छ । तसर्थ विद्यार्थीहरूमा पर्न गएको मानसिक असरलाई हटाउन विद्यार्थीहरूको हौसला बढाउन विद्यालयबाट उत्प्रेरणा तथा सचेतनामूलक कार्य समेत गरेको प्रिन्सिपल श्रेष्ठले बताईन ।
संसारभर फैलिईरहेको कोरोना भाईरस संक्रमणको सन्त्रासलाई हटाउन र विभिन्न अफवाहबाट बच्न सबैभन्दा पहिले त हामीले विद्यार्थीहरूलाई कोरोना संक्रमणबाट नडराउनका लागि विद्यार्थीहरूलाई उत्प्रेरणा दिईरहेका छौं । कोरोना संक्रमणबाट नडराउन निश्चिन्त रूपले परीक्षा दिन विद्यार्थीहरूलाई आश्वासन पनि दिईरहेका छौं । विद्यालयको सबै बिषयको कोर्ष सकिसकेको छ । साथै परीक्षा समितिबाट प्रश्नपत्र तयारी पनि भईसकेको छ । परीक्षा अगाडि सरेकोमा विद्यालयलाई कुनै समस्या नभएको र मन्त्रालयको सूचना अनुरूप नै विद्यालयबाट परिक्षा सञ्चालन हुने कालिका मानवज्ञान मा.वि, बुटवलका प्रिन्सिपल घनश्याम पाठकले खबर एनुकेशनलाई जानकारी दिए । साथसाथै उनले पहिलो कुरा स्वास्थ्य अनि मात्र शिक्षालाई प्राथमिकता दिनुपर्ने समेत बताए ।
ज्ञान निकेतन स्कूलका प्रिन्सिपल शेर बहादुर कुँवरका अनुसार कोरोना संक्रमण सन्त्रासका कारण विद्यालयमा मनाउन लागिरहेको अभिभावक दिवसलाई स्थगित गर्दै परिक्षा कार्यका लागि जुटेको र अधिकाँश सबै विषयको पढाई पूरा भईसकेको र बाँकी पूरा नभएको कोर्षलाई भने विशेष कक्षा सञ्चालन गरेर परीक्षाको तयारीमा लागेको उनले बताए ।
कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहतमा रहेको छ । उक्त जिल्लास्तरीय परीक्षालाई केन्द्र नतोकी सम्बन्धित विद्यालयमै जाँच लिनुपर्ने निर्देशन छ । साथै, कुनै पनि किसिमको भेला, गोष्ठीलगायत कार्यक्रम नगर्न सरकारले भनेको छ । त्यही अनुसार नै विद्यालय लागेको प्रिन्सिपल कुँवरले बताए ।
अधिकांश विद्यालयले आफ्नो अनुकुल चैत १६ गतेपछि परीक्षा लिने तालिका बनाएका छन् । तर, आकस्मिक रूपमा चैत ५ गतेभित्र जाँच लिनु पर्ने भएपछि विद्यालय र विद्यार्थी दुवैलाई केही समस्या भने पर्न गएको छ ।
प्याब्सन केन्द«का अध्यक्ष टिकाराम पूरीका अनुसार परीक्षाको समयतालिका परिमार्जनले गर्दा विद्यालयलाई परीक्षा तयारी कार्यको चाप बढेको बताए । निश्चित तोकेको समयभन्दा अगाडि नै विद्यालयले परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले गर्दा कतिपय विद्यालयबाट पाठ्यक्रमको कोर्ष पूरा गर्न बाँकी रहेको, साथै विद्यालयकोे लगातार पाठ्यक्रम प्रक्रियामा केही असर पर्न गएको उनले बताए । समय अगाावै परीक्षा हुने हुँदा र कोरोना भाईरसको सन्त्रासले गर्दा विद्यार्थीहरूमा मानसिक तनाव बढेको देखिन्छ । संसारभरि नै तरङ्गित बनाईरहेको संक्रमणकालीन अवस्थामा कोरोना भाईरस संक्रमणको सजगता र सतर्कता अपनाउन र आफ्ना नागरिकहरूको जिउधनको रक्षा गर्न सरकारले उठाएको यो कदमलाई नकरात्मक रूपले लिन नहुने अध्यक्ष पूरीले बताए ।
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), नेसनल प्याब्सन, राष्ट्रिय अभिभावक महासंघ, शिक्षक महासंघलगायतका प्रतिनिधि बोलाएर छलफल समेत गरेको छ । सो छलफलमा मन्त्रालय मातहत राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विकास तथा मानव स्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लगायतका अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
मन्त्रालयबाट विद्यालयलाई कुनै पनि किसिमको सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न समेत आदेश दिएको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार सबै पक्षलाई विद्यालयमा सतर्कता अपनाउन समेत निर्देशन दिएको छ ।