काठमाडौँ /८ असोज-मुलुकमा सामाजिक न्याय कायमका लागि हरेक विद्यालय र सञ्चारमाध्यमबाट मर्यादित महिनावारीबारे सचेतना जगाइनुपर्नेमा जोड दिइएको छ ।
राधा पौडेल फाउण्डेसन र शिक्षा पत्रकार समाजले आइतबार आयोजना गरेको ‘मर्यादित महिनावारी र शिक्षा’ विषयक छलफल कार्यक्रममा लैङ्गिक समानता प्राप्त गर्न विकास, नारीवाद मानवअधिकारको इतिहासमा मर्यादित महिनावारी नयाँ आयाम भएकाले यसलाई जागरणको विषय बनाउनुपर्ने बताइएको हो । फाउण्डेसनको अध्ययनमा महिनावारी हुँदा विद्यालय जानु हुँदैन, विद्यालयमा नाता पर्ने पुरुष हुन्छन्, विद्यालय आफैमा सरस्वतीको मन्दिर हो भन्ने गलत सोचले छात्राहरुमा बीचैमा कक्षा छाड्ने र बाल विवाह हुने समस्या देखिएको जनाइएको छ ।
सामाजिक अभियन्ता एवं लेखक राधा पौडेलले हरेक मानवको जन्म महिनावारी प्रक्रियाबाट हुने भएकाले महिनावारीको रगत अशुद्ध वा फोहोर हो भनाइ मिथ्या रहेकाले शिक्षाकर्मी र सञ्चारकर्मीले यसलाई चिर्न सक्नुपर्ने बताउनुभयो । महिनावारीको विभेदले शक्ति र पितृसत्ताको निर्माण र सवलीकरणका साथै गुणस्तरीय र नियमित पढाइमा बाधा ल्याउने अध्ययनबाट देखिएको बताइन ।
‘‘महिनावारी हुँदा महिनामा पाँच दिन बारेर विद्यालय नजाने हो भने किशोरीहरुको वर्षमा दुई महिना स्वतः पढाइ छुट्छ । उनीहरु प्रतिस्पर्धी बजारमा दक्ष जनशक्ति बन्न नसक्ने अवस्था आउँछ । अझ डरलाग्दो स्थिति त बीचैमा पढाइ छाड्ने र बालविवाहका प्रवृत्ति देखा पर्दछन् । यस्तो विभेद्ले असुरक्षित यौन सम्पर्क र गर्भपनका समस्या पनि देखिन सक्छ’’ उनले भनिन् ।
उनले राष्ट्रिय महिनावारी नीतिको मस्यौदा २०७४ सालमा तयार भए पनि जारी हुन नसकेको र मुलुकी देवानी संहिता, २०७४ मा महिनावारी विभेदलाई दण्डनीय बनाइए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरिन । पूर्व नर्स पौडेलले वुमन पिसमेकर अवार्ड र ‘खलङ्गामा हमला’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरिसकेकी छन् । कार्यक्रममा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले फाउण्डेसनसँगको सहकार्यमा मर्यादिा महिनावारीका सवालमा खोज, अध्ययन बढाइ, स्थलगत रिपोर्टिङ, प्रकाशन र लेखनवृत्तिलगायतका कार्यक्रम सञ्चालन गर्न सकिने जनाउनुभयो ।