काठमाडौं/६ असोज-सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्न इसिइसि इनोभेसन इन एजुकेसन र कोन्ज्योसोम गाउँपालिकाबीच सम्झौता भएको छ । सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्ने उदेश्यले सम्झौता गरिएको हो ।
सम्झौता अनुसार यो परियोजना मार्फत पहिलो वर्षमा इसिडि देखि कक्षा ३ सम्मका शिक्षक, दोस्रो वर्षमा कक्षा ४ देखि ५, त्यसपछि कक्षा ६ देखि ८ सम्मका शिक्षकहरूले तालिम पाउने छन । कोञ्ज्योसोम गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष कृष्णमान लामा, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्य तथा इसिइसिका तर्फबाट महाप्रबन्धक पीताम्बर न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरूका साथै इसिइसिका तर्फबाट महाप्रबन्धक पीताम्बर न्यौपाने, अनुसन्धान तथा विकास विकासका विभागीय प्रमुख तथा नोर्हेड परियोजना संयोजक मिना कार्की सुब्बा, परियोजना तथा मानव संसाधन विभागीय प्रमुख सुनिला महर्जन, अनुसन्धान तथा विकास विकासका विभागीय उपप्रमुख सिङ्गी थिकेपा ल्होमी, संस्थापक सदस्य तथा शैक्षिक सल्लाहकार रियान बिनेन्मार्स, वरिष्ठ शिक्षक प्रशिक्षकहरू विमला महर्जन र हिरामान तामाङको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम अनुसन्धान तथा विकास विकासका विभागीय उपप्रमुख सिङ्गी थिकेपा ल्होमीले कुशलताका साथ सञ्चालन गरेका थिए, भने इसिइसिका महाप्रबन्धक पीताम्बर न्यौपानेले यस परियोजना कार्यक्रम कोञ्ज्योम गाउँपालिकाका लागि मात्र नभई नेपालका लागि नै शैक्षिक सुधारमा कोसेढुङ्गो साबित हुने र ऐतिहासिक हुने कुरा बताए ।
इसिइसि इनोभेसन इन एजुकेशन २००१ मा स्थापना भई, निरन्तर नेपालको शैक्षिक सुधारका लागि सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गर्दै आई रहेको संस्था हो । यसै सिलसिलामा इन्टेन्ट र नोर्हेड परियोजना सँगको सहकार्यमा यो कार्यक्रम विगत ३ वर्षदेखि बेलबारी नगरपालिका, मोरङ, महालक्ष्मी नगरपालिका, ललितपुर र पोखरा महानगरपालिका, कास्कीमा सञ्चालनमा भई रहेको छ ।
यस परियोजनाका कार्यक्रमहरूमा गाउँपालिकाको तर्फबाट भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री व्यवस्थापनमा बजेट विनियोजन गर्ने र इसिइसिका तर्फबाट शिक्षक क्षमता अभिवृद्धि तालिम, अभिभावक सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरूका लागि नेतृत्व विकास तालिम, अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रम को सहजकर्ता तालिम तथा शैक्षिक सुधारमा लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता गर्ने आदि कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले शिक्षामा गरेको लगानी सुरक्षित र दीर्घकालीन लगानी भएको र भौतिक पूर्वाधार विकास भन्दा पनि मानव संसाधन विकास महत्वपूर्ण हुने बताए । यस कार्यक्रम मार्फत खस्कँदो अवस्थामा रहेको शैक्षिक उपलब्धि सुधार हुने र गाउँपालिकामा नमुना विद्यालय निर्माण हुने अपेक्षा रहेको बताउँदै परियोजनाको उद्देश्य र मर्म अनुसार सहकार्य गर्नका लागि गाउँपालिका प्रतिबद्ध रहेको जानकारी दिए ।