विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने चतावनी

सुनसरी/१ असोज-सुनसरीको दुहवी नगरपालिकाले पठनपाठन बन्द गरेर शिक्षक आन्दोलनमा गए कारबाही गर्ने चतावनी दिएको छ । नियमित रुपमा कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सदा झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न निर्देशन दिँदै बन्द गरे कारबाही गर्ने चेतावनी दिएको हो ।


संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को विरोध स्वरुप विद्यालय बन्द गरेर काठमाडौं केन्द्रीत आन्दोलनमा आउन लागेपछि बन्द नगर्न चेतवनी दिएको हो । साथै बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हड्ताल गर्नु कदापि स्वीकार्य नहुँने भन्दै नियमित पठनपाठन गर्न निर्देशन दिएको छ ।


विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता भएपछि नेपाल शिक्षक महासंघले विरोधमा विद्यालय बन्द गरेर काठमाडौं केन्द्रीत आन्दोलनमा आउन शिक्षकहरुलाई निर्देशन दिएको छ ।


यस्तो छ विज्ञप्ति :


उपर्युक्त्त विषयमा हालै संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरुले विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्दसम्मको कार्यक्रम आयोजना गरेको बुझिएको हुदा शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको साथै आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ÷ छैन भन्ने विषय महत्वपूर्ण हुन आउछ ।


अतः विद्यालयका बालबालिकाको शिक्षण सिकाइ नियमित र प्रभावकारी रुपमा गरी सिकाइ उपलब्धिमा सुधार गर्नु एकमात्र ध्येय शिक्षकहरुको रहनु पर्नेमा बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हड्ताल गर्नु कदापि स्वीकार्य हुदैन । तसर्थ नियमित रुपमा कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सदा झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न गराउन दुहवी नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरुमा यो निर्देशन जारी गरेको छु ।


यस निर्देशनको अवजा गरी कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कार्वाही हुने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराउदछु ।


साथै अभिभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुलाई नियमानुसार नियमित विद्यालय सञ्चालनमा सहयोग पुर्याउनुहुनेछ भन्ने विश्वाससमेत लिएको छु ।


वेदनारायण गच्छदार
नगर प्रमुख
दुहवी नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *