काठमाडौं/१ असोज-मानव र समाजको भौतिक तथा वातावरणीय सम्बन्धको क्रियाकलाप तथा गतिविधीलाई सामाजिकीकरणको मूल आधार बनाएर सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षाको बिषयमा आधारित जीवनोपयोगी सामाजिक शिक्षाको आवश्यकता देखिएको छ ।
सामाजिक शिक्षकहरुले स्थानिय तथा जनमानसले माग गरेको सैद्धान्तिक र व्यवहारिक प्रभावकारी शिक्षा शिक्षणका लागि साथै विद्यार्थीमा देश प्रेम, राष्ट्रिय एकताको भावना लोकतान्त्रिक मुल्य मान्यता र संस्कारको विकास एवम् विविधता प्रतिको सम्मानको भावना जगाई व्यवहारिक रुपले भाषिक तथा सञ्चार सिपको विकास गराउनु नै यसको मुख्य उदेश्य हो ।
विद्यार्थीहरुको ज्ञानात्मक, भावनात्मक तथा मनोक्रियात्मक पक्षको अवलोकन गर्दै सिकाईमा सहयोग पुर्याउने एउटा महत्वपुर्ण आधारका रुपमा बाल केन्द्रित, सिकाइ केन्द्रित, अनुभव केन्द्रित, उद्धेश्यमुलक, प्रयोगमुखी र क्रियाकलापमा आधारित बनाउने उद्धेश्यले शिक्षकको निरन्तर पेशागत विकासमा जोड दिनुपर्दछ ।
यसै सन्दर्भमा काठमाडौं विश्वविद्यालय र क्वालिटी काठमाडौं स्कुलको सहकार्यमा “ सामाजिक अध्ययनमा नविन शिक्षा “विषयमा भक्तपुर स्थित निस्ट स्कुलमा कार्यशाला सम्पन्न भएको छ । यस कार्यक्रममा क्वॉलिटी काठमाडौँ स्कुलमा आवद्ध स्कुलका सम्पूर्ण ५५ जना शिक्षकहरुको स्वतःस्फूर्त र सक्रिय सहभागिता रहेको थियो ।
सिकाई र विद्यार्थीको जीवन्त अनुभव विच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न शिक्षकले सहजकर्ता, उत्प्रेरक प्रवर्धक र खोजकर्ताका रुपमा सामाजिक विषयका शिक्षकलाई मध्यनजर गरी यस गोष्ठीको आयोजना भएको थियो ।
सामाजिक शिक्षाका पाठ्यक्रमको प्रकृति, पाठ्य पुस्तकको विशेषता, कार्य योजना, समय व्यवस्थापन, कक्षा व्यवस्थापन, एकिकृत पाठ सिकाई, प्रभावकारी शिक्षण प्रक्रिया अवलम्बन गर्ने भन्ने कुरा कार्यशालामा प्रष्ट पार्न खोजिएको थियो । जसमा विभिन्न शिक्षक शिक्षिकाहरुसँग प्रत्यक्ष अन्तरक्रिया पनि गरिएको थियो । पाठ्यक्रम सम्वन्धमा विविध पक्षहरुमा रहि शिक्षकहरुको समुह विभाजन गरि आआफ्नो प्रस्तुति रहेको थियो साथै समसामयिक विषय ’जलवायु परिवर्तन’ मा रहि विशेष सामूहिक छलफल गरिएको थियो ।
कार्यशालाको सहजीकरण निरन्तर र पेशागत शिक्षा केन्द्रकी संयोजक डा.पार्वती ढुङ्गाना, पाठ्यक्रम विकास केन्द्रका हेमराज खतिवडा र काठमाडौं विश्वविद्यालयकी रेजीना केसीले गरेका थिए भने कार्यशाला संचालन क्वालिटी काठमाडौँ स्कुल तथा निष्ट स्कुल भक्तपुरका प्रधानाध्यापक दिलीप रानाले गरेका थिए ।