काठमाडौं/१० भदौं-अहिले कस्सी कस्सी कक्षा १२ का विद्यार्थी बिदेश पठाउन खोज्ने मित्रहरुलाई सोधौं, नेपालबाट यसअघि ५० लाखको लोन लिएर विदेश गएका विद्यार्थी मध्ये कतिले आफ्नो स्नातकको पढाइ पूरा गरे ? कति नेपाल फर्के ? कतिले पढाइ छोडेर लाजले नेपाल फर्कन सकेका छैनन् ? कतिको बूढो पुस्ता यता र छोराछोरीको पुस्ता उता भएर भिडियो च्याटमा चित्त बुझाउनु परेको छ ! यो बुझौं ।
हो हामी सुध्रनै पर्छ, नेपालमा स्नातक तहको मेडिकल तथा इन्जिनियरिङ शिक्षा निकै उत्कृष्ट छ, मात्र कमी हो एकाडेमिक क्यालेन्डरको परिपालना । बरु त्यता सुधार गर्न लागौं, भनौं । नेपालका विश्वविद्यालयलाई गाली नगरौं, अलिक समयमा छैनन् तर अध्ययन अध्यापनको लागि उपयुक्त छन् । यीनै सानातिना कमजोरीलाई हतियार बनाएर विश्वविद्यालयहरुलाई तथानाम गर्दै विदेश खेद्नेहरुले एकपटक सोचौं, के हामीले ठीक गरिरहेका छौं ?
राज्यलाई सोधौं, ६०÷७० हजार युवालाई ७० अर्ब भन्दा धेरै रुपियाँ बराबरको डलर दिएर पठायौ, फिर्ता चै के पायौं ? कति पढाइ सकेर फर्के नेपाल ? नेपाल फर्केकालाई कतिलाई रोजगार बनायांै ? कतिलाई स्वरोजगार ? के हाम्रो राज्यमा तथ्यांक छ ? कति कुन मुलुकमा कुन अवस्थामा छन विद्यार्थीहरु ? ती अप्ठ्यारोमा परेका विद्यार्थीलाई हाम्रा राजदूतले के सहयोग गरिरहेका छन् सरकार ?
अष्ट्रेलियाले आफ्नो आयको दोश्रो श्रोत विदेशी विद्यार्थीको आयलाई बनाउँदै गर्दा सरकारले नेपाललाई किन पर्यटकीय शैक्षिक हब नबनाएको सरकार ?
फेरि सोध्नुहोस, ठुलो आवाजमा विदेश लैजान प्रोत्साहित गर्ने मित्रहरुलाई, के मलाई पूर्ण छात्रवृत्तिमा लानुहुन्छ ? पूर्ण छात्रवृत्ति पाउनुभयो भने व्यचलर्स गर्न गए हुन्छ । हैनभने तपाईंले पढाइ र कामसँगै लान निकै कठिन हुन्छ । यो कुरा नबुझी दौडनु हुन्न । जानैपर्ने भए मास्टर्स र पिएचडी गर्न जानुभयो र काम पाउनुभयो भने जानुहोस, फेरिपनि भन्छु, व्यचलर्स गर्न होइन ।
सहज छैन, विदेशको काम । त्यो म भन्दिन के काम गर्नुपर्छ भनेर । तपाईं आफै बुझ्नुहोला । सहज छैन, पैसा कमाउन । कमाउन पनि नसक्ने, अलिअलि कमाए पनि पढाइ पूरा गर्न नसक्नेहरु पोइण्ट बढाउन पिआरको लागि इनटर्न पनि नभएको गाउँमा कठिन जीवन बिताउन बसिरहेकाहरुलाई खुसुक्क सोध्नुहोला, दाइ÷दिदी जीवन कसरी बितिरहेको छ ? सातदिनको लागि दाल भात फ्रीजबाट निकाकेर बासी भात खाँदै भन्नुपर्या छ, बुवा आमा म गजबसँगले जिइरहेको छु, तपाईं हरु आफ्नो ख्याल गर्नु है ।
मेरो यो यथार्थ कुराले कसैको मन दुख्ला, माफ गर्नुहोला, बोल्नै पर्ने वाध्यता भयो । अन्त्यमा, अभिभावक अभिभावकबीचमा छोराछोरी पढाउने होइन पठाउने प्रतिस्पर्धा छ, छोराछोरीको भविष्य मात्रै होइन पुस्ता हराउँदैछ, ख्याल गरौं ।
(लेखक ई. दिलिप कुमार झा, हिलसाइड कलेज अफ इन्जिनियरिङ्गका प्रिन्सिपल हुन् )