एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै

काठमाडौं/२१ असार–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सकेसम्म नतिजा आज नै सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् ।


उनले आज बोर्ड बैठक बसेर निर्णय गरिने जानकारी दिँदै आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको खबर एजुकेशनलाई बताए । त्यसैगरी परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशन गर्न सबै तयारी पूरा गरिएको बताउँदै बोर्ड बैठक बसेर सार्वजनिक गर्ने तयारि गरिएको बताए । उनले भने ‘बोर्ड बैठक आज बस्छ जटिल समस्या नआए आज नतिजा प्रकाशन गर्छौ ।’


यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए ।


पुरानै लेटर ग्रेडिङ निर्देशिका अनुसार एसइई नतिजा प्रकाशन गर्ने


राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार गर्ने छ । बोर्डको १८ गते बसेको बैठकले यो वर्षको एसइईको नतिजा ग्रेडिङ निर्देशिका, २०७२ अनुसार गर्ने निर्णय गरेको हो ।


पुरानो पाठ्यक्रम बाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय बोर्डले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *