सबै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरिसके : शिक्षा मन्त्रालय

काठमाडौं/१७ बैशाख-शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुगेको र बैशाखको दोस्रो हप्तासम्म सबै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रनलयले जानाएको छ । जनक शिक्षा सामाग्री केन्द्रबाट कक्षा ६-१० को लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरुबाट कक्षा १-५ को लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाई गरी ७७ वटै जिल्लामा पुगेको जानाएको हो ।


मन्त्रालयले आज पत्रकारहरुसँगको छलफलमा विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन चालु शैक्षिक सत्रका लागि भर्ना प्रक्षेपणका आधारमा कक्षा १-५ सम्म २३ लाख ९२ हजार ६३६ र कक्षा ६-१० सम्म २० लाख ४६ हजार ४५० विद्यार्थीका लागि आवश्यक संख्यामा पाठ्यपस्तक छपाई गरि वितरण गर्ने लक्ष्य बमोजिम ७७ वटै जिल्लामा पुगेको जानकारी दिएको छ ।


शैक्षिक सत्र २०८० का लागि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारा सहित बैशाख २ गतेबाट देशभरका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान जारी रहेको बताउँदै देशै भरका १ हजार २ सय ६७ स्थानीय विक्रेताहरु मार्फत पाठ्यपुस्तक विद्यार्थीको हात हातमा उपलब्ध गराउन सफल भएको जनाएको हो ।


भर्नासँगै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पु¥याउने विषयलाई सरकारको साझा न्यूनतम कार्यक्रमको प्राथमिकतामा राखेर काम गर्दा समयमै पाठ्य पुस्तक उपलब्ध गराउन सकिएको शिक्षा सचिव रामकृष्ण सुवेदीले बताए । उनले मन्त्रालय तहबाट यस विषयलाई कार्य प्राथमिकतामा राखिए बमोजिम पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जनक शिक्षा सामाग्री केन्द्रबाट योजनाबद्ध ढङ्गले समयमै कार्य सम्पादन हुन सकेको कारणले समयमै पाठ्य पुस्तक उपलब्ध गराउन सकिएको बताए ।


त्यसैगरी कक्षा १ ५ सम्मको पाठ्यपुस्तकको छपाई निजी क्षेत्रका मुद्रण संस्थाहरुबाट गरिएपनि अर्को वर्षबाट जनक शिक्षा सामाग्री केन्द्रबाटै छाप्ने तयारी भएको महानिर्देशक अनिल कुमार झाले बताए । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले कक्षा १ देखी १० सम्म ६ सय ८६ नीजि प्रकाशनले पाठ्यपुस्तक छापेपनि भाषिक त्रुटी भएका पाठ्यपुस्तक प्रकाशकहरुलाई कारबाही गरिएको जानकारी दिए । साथै सचेत गराउँदा पनि प्रकाशनले पाठ्यपुस्तक नसच्याए खारेजसम्म गर्न सकिने बताए ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले तीन प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेकोमा सबै भन्दा धेरै मधेश प्रदेशमा बालबालिका विद्यालय बाहिर रहेको बताए । पौडेलले विद्यालयको भर्ना अभियानसँगसँगै विद्यालय बाहरि रहेका १ लाख ५० हजार बालबालिकालाई विद्यालयमा भर्ना गर्न अहिलेपनि चुनौति रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *