बालश्रम मुक्त गरी शिक्षाको पहुँचमा जोड्ने अभियानमा तुलसीपुर उपमहानगरपालिका

दाङ् /१३ बैशाख-दाङ्को तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । नगरलाई नै बालश्रममुक्त पालिका घोषणा गर्ने अभियान अनुरुप वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणा गर्ने अभियान अघि बढेको हो ।


बालश्रम मुक्त वडा घोषणा गरी अहिले सबै बालबालिकालाई शिक्षाको पहुँच जोड्ने अभियान संचालन भइरहेको वडा अध्यक्ष शिवानन्द डीसीले जानकारी दिए । वडामा अहिलेसम्म श्रममा लागेका बालबालिकाको पहिचान तथा श्रममुक्त गरी उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउन थालिएको उनले बताए ।


यसैक्रममा वडामा आर्थिक अभावका कारण विद्यालय जानबाट बन्चित रहेका बालबालिकालाई मंगलबार आर्थिक सहायता हस्तान्तरण गरिएको छ । वडाका दुई जना बालबालिकाकालाई आयआर्जनसहित प्रति परिवार १५ हजार र १५ जना बालबालिकालाई प्रतिव्यक्ति ५ हजारका दरले नगद सहयोग गरिएको छ ।


आर्थिक अभावका कारण शिक्षाबाट बन्चित हुने अवस्था आउन नदिन बालबालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताइन । युनिसेफको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले बालबालिका तथा उनीहरुका घरपरिवारलाई आर्थिक सहयोग गरेको हो । अहिले नगरलाई बालश्रममुक्त बनाउने योजना अनुरुप अहिले वडा नम्बर १६ मा आर्थिकरुपमा विपन्न बालबालिकालाई नगद सहयोग हस्तान्तरण गरिएको उनले बताइन । अहिले वडा नम्बर १६ र १७ लाई बालश्रम मुक्त गर्ने करिब अन्तिम तयारीमा रहेको प्रमुख श्रेष्ठले बताइन ।


यसअघि तुलसीपुरका उपमहानगरका वडा नम्बर १, २, ६ र १८ बालश्रममुक्त वडा घोषणा भइसकेका छन् । अब केहि समयमै वडा नम्बरको १६ र १७ लाई बालश्रममुक्त बनाउन अन्तिम तयारी थालिएको हो ।


नगर उपप्रमुख स्यानी चौधरीले पाँच वर्षभित्र नगरलाई समृद्ध बनाउन सबै किसिमको समान विकास आवश्यक रहेको बताउँदै नगर समृद्ध हुन सबै बालबालिका शिक्षाको पहुँचमा पुग्नुपर्नेमा जोड दिए ।


बालविज्ञ नवराज लामिछानेले नगरमा बालश्रम डरलाग्दो स्थिति नभएपनि शून्य अवस्थामा नपुगेको बताए । उनले नगरलाई बालश्रम मुक्त बनाएर बालमैत्री नगर बनाउनमा सहयोग गर्न आम अभिभावकलाई अनुरोध गरे । नगरका शिक्षा महाशाखा अधिकृत चक्र भण्डारीले नगरबाट प्राप्त सहयोग सहि ठाउँमा प्रयोग हुनेमा विश्वस्त रहेको बताए ।


स्वास्थ्य महाशाखाका प्रमुख ओम पि न्यौपानेले भौतिक विकाससंगै मानवीय विकास अपरिहार्य रहेको भन्दै बालबालिकालाई शिक्षामा पहुँचमा लैजानुपर्ने बताए । युनिसेफका प्रकाश कैनीले सरकारसंगको समन्वयमा विपन्न बालबालिकालाई सहयोग गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *