पठाओको आपत्ति : डीएभी स्कुलका शिक्षकले पठाओको नाम जोड्नु दु:खद्

काठमाडौं/९ बैशाख-ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती विद्यालयका शिक्षकले पठाओको नाम जोडेर राखेको धारणा प्रति राइड शेयरिङ कम्पनी पठाओले आपत्ति जनाएको छ । सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरुबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यान्तै दुःखद् रहेको भन्दै पठाओले विद्यालयका शिक्षकको भनाइप्रति आपत्ति जनाएको हो ।


तीन दिनअघि चलचित्र निर्देशक उपेन्द्र सुब्बाले आफ्नी छोरी पढाइमा कमजोर भएको कुरालाई लिएर डीएभीका शिक्षकले दिएको नकारात्मक अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको थिए । “उनले लेखेका छन् “पहिला पनि जोशी सरले ’पढेर केही गरी खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने’ भन्दै आमा छोरी दुवै मसँग रोए ।”


केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा पठाओलाई अतिरिक्त आम्दानीको माध्यम बनाइरहेको पठाओले जानकारी गराउँदै शिक्षकबाटै पठाओको नाम जोडेर नकारात्मक अभिव्यक्ति आएकोमा आपत्ति जनाएको छ ।


“उपत्यकाभित्र तथा उपत्यका बाहिरसमेत जनजीविकालाई सहज बनाउँदै आवतजावतमा समेत सहजता प्रदान गर्न हाम्रा क्याप्टेन, राइडर र फुडम्यान साथीहरूको संलग्नताप्रति हामी गर्व गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ ।


साथै विद्यालय स्तरमा नै सबै किसिमका पेशा र व्यवसायप्रति विद्यार्थीलाई जानकारी दिने र स–सम्मान काम गर्न अभिप्रेरित गरिनुपर्नेमा, शिक्षक वर्गले दिएको गलत अभिव्यक्ति भोलिका दिनमा नदोहोरिने विश्वास गरेको कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *