शैक्षिक सत्र सुरु हुनु अगावै हुम्लामा पाठ्यपुस्तक पुग्यो

हुम्ला/३ बैशाख-यो वर्ष वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै हिमाली जिल्ला हुम्लामा पाठ्यपुस्तक पठाइएको छ । शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पाठ्यपुस्तक नपाउने हुम्लाका सामुदायिक विद्यालयका विद्यार्थीले यो वर्ष शैक्षिक सत्र सुरु भएको दिन नै पाठ्यपुस्तक पाएका हुन् ।


पुस्तक नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो । जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा पाँच दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ । योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ ।


ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पु–याउने जिम्मा लिएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए ।


सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए । पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन् ।


यी चार पालिकामा पैदल मार्गमार्फत केही दिनअघि पुस्तक पुगिसकेका छन् । कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *