स्कूल ‘फि’को बिललाई आफ्नो हैसियतको रसिद नठानौं

काठमाडौं/३ बैशाख-एक जना स्वदेशी साथीले मलाई सोधे नेपालमा विद्यालय शिक्षाको अवस्था कस्तो छ ? मेरो जवाफ थियो छरपष्ट । नेपालमा शिक्षण संस्थाहरू हाट मेलामा थापिएका पसलहरू सरी नानाथरी, रङ्गीचंगी, साना ठूला, महंगा सस्ता छन् । बजार जो हो !


जुन समाजमा शिक्षा व्यापार बनिसक्यो, जहाँ थरीथरीका पाठ्यक्रम र शिक्षण पद्धति छरपष्ट भेटिनु कुनै आश्चर्य नै भएन । तर, यदि यो व्यापार नै हो भने पनि कति मुनाफा खान पाउने भन्ने कुराको भने लगाम हुनु पर्ने हो । २०% भन्दा बढी मुनाफा खाएका कुनै पनि व्यापार त कालोबजारी नै हो नि, हैन र ?


यस समस्याको समाधान स्वरूप सरकारको तर्फबाट जब पहल होला तब होला, तर गुरूकुलका कुलपतिहरूले भने ईमान्दारीता पूर्वक सोची हाल्नु पर्ने भएको छ । नत्र आफै अनैतिक धरातलमा उभिएर, विद्यालयमा नैतिक शिक्षाको पाठ पढाउनु शर्मनाक हुन्छ ।


वास्तवमा, अभिभावकहरूले आफ्नो क्षमता हेरेर, देश भित्रैका महंगा स्कूलहरूमा आफ्ना छोराछोरीहरूलाई पढाउन पाउनु उहाँहरूको मानव अधिकारमा पर्दछ । कम से कम, यस्ता स्कुलहरूका कारणले नेपालको धन विदेश (भारत पनि विदेश नै हो, है) जानबाट त रोकिन्छ । तर हैसियत र कमाई भन्दा बढी शुल्क भएको स्कुलमा छोराछोरीलाई पढाउने होडबाजीमा लाग्नु चाहिँ गलत भयो । स्कुल फिसको बिललाई आफ्नो हैसियतको रसिद नठानौं भन्ने अनुरोध गर्न चाहन्छु ।


कुनै विदेशी साथीले त्यहि प्रश्न, नेपालको शिक्षाको स्थिति कस्तो छ ? भनेर सोध्यो भने, मैले ’नट ईनकिल्युसिभ एट अल’ भन्ने वाक्य मेरो मुखमा फुत्त आउँछ होला ।


समावेशी छैन, र ? पटक्कै छैन । विद्यालय शिक्षाको मूल उदेश्यमा ’जोडिनु’ हुनु पर्नेमा नेपालमा स्कूलहरूका आकार प्रकारहरूले गर्दा समाजलाई जोड्ने हैन ’टुक्रा टुक्रा पारेर तोड्ने’ काम गरिरहेको जस्तो भान हुन्छ । यो प्रकृतिको नियमको बिलकुल विपरित कुरा हो ।


आज भन्दा ६ वर्ष अगाडि जब म लण्डनको १७ वर्षीय पढाइ, सिकाइ र बसाइबाट नेपाल फर्किएँ ७ कक्षामा पढ्ने हाम्री छोरी र २ कक्षामा पढ्ने छोरालाई स्कूल खोज्न हिँडें, मैले प्रष्ट बुझें, किन धेरै नेपाली साथीहरू नेपाल फर्केर देशको सेवा गर्ने इच्छा भए पनि हिच्किचाउनु हुन्छ र किन कति साथीहरू त २/४ महिना बसेपछि फेरि फर्केर जानु हुन्छ ?


एउटा प्रमुख कारण रहेछ, छोराछोरीको स्कूल फिस र गुणस्तरमा (भ्यालु फर मनि) तालमेल नभएकोले तर्सिएर । अहिले नेपालमा बुवामुवाँको कमाइ र हैसियतको आधारमा फरक फरक सामाजिक परिवेशमा हुर्केका केटाकेटीहरू फरक प्रकारका स्कूलहरूमा पढ्छन् । समाज पुरै विखण्डीत छ ।


यो पुस्ताका केटाकेटीको लागि कृष्ण–सुदामाको मित्रता नसिब हुने भएन । न त गरीबका छोराछोरीले धनिको रहनसहन, भेषभुषा बोलिचाली, व्यवसाय नजिकबाट देखेर केही सिक्न पाउने भए, न त समृद्ध परिवारकाले आफू भन्दा कमजोर आर्थिक र सामाजिक अवस्था भएका साथीहरूलाई हेरेर जीवनमा सन्तोष, सहयोग, सद्भाव, कृतज्ञताको विशुद्ध अनुभूति गर्न पाउने भए । गरीबका छोराछोरी पढ्ने स्कुलमा सम्पन्न घरानाका छोराछोरी पढ्नु पारिवारीक र सामाजिक सानको विरूद्ध हुने मान्यता छ ।


एक जना निकटतम शिक्षिक साथीले भन्दै हुनु हुन्थ्यो । महंगा स्कुलहरूले, सरकारले तोकेको कोटा अनुरूप, विभिन्न जिल्लाहरूबाट सरकारी स्कूलका टपरहरूलाई छात्रवृत्तिमा पढाउन भनेर हस्टेलमा राख्छन् । तर हेर्दा हेर्दै ती सम्भावना बोकेका केटाकेटीहरू कक्षामा पछाडि पर्न र ओईलाउन थाल्दा रहेछन् । यसले के देखाउँछ भने नेपाली समाजमा आर्थिक र सामाजिक खाडल यति ठूलो भैसकेको छ कि, त्यसको प्रत्यक्ष असर केटाकेटीहरूको मनोभाव र आत्मविश्वासमा समेत पर्न थालि सकेको छ ।


अर्को लज्जाको विषय के छ भने, नाम चलेका सरकारी स्कूालहरू समेतले पनि प्रवेश परीक्षाद्वारा छानिछानि केटाकेटी भर्ना गर्ने हाम्रो समाजमा, पढाइमा कमजोर केटाकेटीहरूले विशेष सहयोग र व्यवस्था पाउनु त परै जाओस्, राम्रा स्कूलमा दाखिलासम्म पनि नपाउने स्थिति देखिएको छ ।


अझै विशेष जरूरत र क्षमता भएका (स्पेशल एजुकेश्नल निड्स), शारीरिक वा मानसिक रूपमा कमजोर केटाकेटीहरूको शैक्षिक अधिकार मेन स्ट्रिम स्कुलमा पाउन सारै गाह्रो भएको कुरा त्यस्ता विशेष क्षमता भएका नानीबाबुहरूका अभिभावकहरूबाट पटक पटक सुन्नमा आउने गर्छ ।


विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा कस्को दोष ? सरकार, शिक्षक वा अभिभावक ?


सबै सुध्रिनु पर्नेछ । सरकारले तुरून्त समावेशी शिक्षा नीति ल्याउन र निष्पक्ष अनुगमन गर्नु पर्दछ । खास कुरो के हो भने, अभिभावकहरू मारमा हुनुहुन्छ अनि सारै दुविधामा पनि कि – कस्तो स्कूललाई राम्रो स्कूल भनिन्छ ? कुनै मापदण्ड जो छैन ।
सबैको स्वविवेक हुनै पर्छ, यस्तो जरूरी छैन । यस्तो अवस्थामा सरकारले अभिभावकत्व ग्रहण गरेर नीति नियमको घेराबाट अभिभावकहरूलाई मार्गदर्शन दिन सक्नु पर्छ ।


स्कूलहरूले कुनै निश्चित मापदण्ड पालना गर्नु पर्ने वा भनौं गरे नगरेको निगरानी वा अनुगमन नभएकोले राम्रो स्कूल कस्तालाई भनिन्छ भन्ने बारे अभिभावकहरूमा अन्योल छ । कुनै सस्तो फिस भएका स्कूलले पनि गुणस्तरीय शिक्षा दिई रहेका छन् भने कति महंगा स्कूलहरूले फिस अनुसारको सुविधा नदिएको पनि पाईन्छ ।


वास्तवमा भन्नु पर्दा, आफ्नो व्यक्तिगत रोजाई अनुसार नभै, बजारको माहोल हेरी, महँगो फिस भएको स्कूलमा पढाउनुलाई आफ्नो हैसियतको प्रदर्शन भन्ने ठानेर सकि नसकि पढाउने चलन चलेको छ ।


जबसम्म स्कूलको गुणस्तर र शुल्कमा सरकारले पोलिसी लेभलबाट एकरूपता ल्याउँदैन, अभिभावकहरूले सकि नसकि महंगा स्कूलमा पढाउने बोझिलो चलन कायम नै रहने देखिन्छ ।


अब एक पटक मनन गरौं कस्तो स्कूललाई राम्रो मान्ने ?


सर्वप्रथम त विद्यालय शिक्षाको उदेश्य के के हुन् त ?
मूलतः शिक्षाका ५ स्वर्णिम उदेश्यहरू निम्न हुनुपर्छ :


१) खुसी हुन सिकाउनु ,
२) शान्त हुन र आनन्दित रहन सिकाउनु । सृजनात्मक हुनु सिकाउनु ,
३) ज्ञान र सीपको लगनशील भइ अभ्यास गर्न सिकाउनु ,
४) सहकार्यको भावना जगाउनु ,
५) सबैसँग जोडिनु । मायाँ, दया र करूणाको भावले सबैलाई आफ्नो देख्नु, सकारात्मक रहनु ।


माथिका उदेश्यहरूले अभिभावक, स्कूल सञ्चालक, गुरु वर्ग, सरकार सबैमा बराबर जिम्मेवारी बोध गराउँछ । तसर्थ अभिभावकहरूले आफ्ना छोराछोरीको पहिलो स्कूल घर र पहिलो गुरु आफै हुँ भन्ने कुरामा सजगता देखाउनु होला ।


अब छोराछोरीलाई कति पैसाको स्कुलमा पढाउने होला भनेर चिन्ता हैन चिन्तन तर्फ लागौं । चिन्तनका विषयहरू यसप्रकारका छन् :


१) आफ्ना छोराछोरीको फिस तिर्नलाई अनैतिक तवरले वा असामाजिक तरीकाले काम गर्ने अनि छोराछोरीको नैतिक शिक्षा र सामाजिक शिक्षामा ’ए’ प्लस ग्रेड ल्याओस् भनेर आशा गर्नु कत्तिको उचित हो ।


२) आफ्ना छोराछोरीले अंग्रेजी मात्र बोल्न जानोस् भन्ने चाहना हो कि अंग्रेजी पनि बोल्न जानोस् भन्ने ? किनकी अत्याधिक नाम चलेका महंगा स्कूलहरूमा पढेपछि अन्तराष्ट्रिय भाषा, संस्कार र कति पटक त बाल अधिकारको नाममा पस्किएका नियमहरूले देशको संस्कार र संस्कृति र मानवको उच्चतम विकासमा टेवा दिने स्वस्वभाव नतिजा दिन नसकेको कुरा पनि महशुस हुन्छ । देशबाट सम्पन्न घरानाका युवाहरू पनि पलाएन हुनुको प्रमुख कारणहरूमा यो पनि पर्दछ ।


३) बालअधिकार र बालमानोविज्ञान अहिले नेपाली विद्यालय शिक्षा क्षेत्रमा सबै भन्दा बढी गलत प्रयोग भएका विषयहरू मध्ये पर्दछन् । त्यसले गर्दा केटाकेटीहरूमा उमेर अनुसारको लगनशीलता, स्वअभ्यास, स्वखोज, ज्ञान र सीपको प्यास र लगनशीलताको भावमा भन्दा बनिबनाउ पस्केर दिईएका शिक्षालाई मात्र ग्रहण गर्ने मनस्थितिको विकास भएको देखिन्छ । केटाकेटीहरूलाई उमेर अनुसार जिम्मेवार बनाउँदै जाने वातावरण स्कुल र घर दुबैमा हुनु पर्छ ।


४) शिक्षकहरूमा ज्ञान, सीप र त्यो भन्दा पनि बढी सामाजिक उत्तरदायित्वको भावना भर्ने उच्च स्तरीय तालिम केन्द्रहरू स्थापना भइ , निरन्तर तालिम कार्यक्रममा सहभागी भै रहनु पर्दछ । शिक्षक वर्गहरूमा ग्रोथ माईन्ड सेट हुन जरूरी छ । लाइफ लङ् लर्नि र सिक्दै सिकाउँदै गर्ने हौसला हुनु पर्दछ ।


५) कृतज्ञताको भाव जगाउने , आत्मविश्वास जगाउने , सहयोग माग्न र सहयोग दिन जान्ने, सन्तोषी र शान्त हुन सिक्ने वातावरण घर तथा स्कूल दुबैमा हुनु पर्दछ ।


विद्यालय तहमा देखिएका समस्य समाधान गर्न नीतिगत तहबाट हुनुपर्ने केही कार्यहरू :


१) क्याचमेन्ट एरिया तोकेर दायरा भन्दा बाहिर स्कुलका गाडीहरूबाट प्रि प्राइमरि र प्राइमरि स्कूलका केटाकेटीहरू वसारपसार गर्न नपाईने नीति बनाउनु पर्छ ।


२) इन्टरनेशनल स्कूल भनेर दाबी गरेका सबै स्कूलहरूको नेपालको सामाजिक र आर्थिक परिप्रेक्षमा के कस्तो औचित्य र योगदान छ निगरानी गरी स्कूलहरूका कारण पैदा भएको सामाजिक विखण्डनलाई कम गर्ने जमर्को गर्ने ।


३) स्कूलको क्यालेण्डर स्थानिय निकायले तय गर्ने । ताकि हानथाप र खिचातानिमा केटाकेटीहरू नपेलिउन् ।


४) स्कूलहरूले कुनै एउटा उमेर हदका केटाकेटीहरूलाई मात्र पढाउन पाउने र त्यसै क्षेत्रमा विशेषता हासिल गर्ने । जस्तैः
क) प्रि स्कुलदेखि कक्षा ५ सम्म
ख) कक्षा ६ देखि कक्षा १२ सम्म
ग) उच्च शिक्षा


नर्सरीदेखि १२ सम्म एउटै स्कुलमा पढ्ने परिपाठीले केटाकेटीहरूमा फ्लेक्सिबिलिटी, सोसल स्किल,एडप्ट्टेशन स्किल, इनडिपेन्डेन्स् र रिसाईलेन्सको सारै कमि भएको देखिएको छ । यी सफ्ठ स्किल पाठबाट हैन, जीवनको भोगाईबाट सिक्नु पर्ने आवश्यक स्किल हुन् ।


५) एसईई परीक्षाको उपयोगीता मूल्याङ्कन गरी कि त खारेज गर्ने । यदि यथावत राख्ने भए धाँधलि रहित सेन्टरहरू संचालनको लागि पहल गर्ने । पहुँच भएका स्कूलहरूले आफू खुसी सेन्टर मिलाउने र जाँचमा प्रभावित गर्ने वातावरण तुरून्त हटाउने ।


६) हरेक शैक्षिक सत्रमा घटीमा ५ दिन शिक्षक शिक्षिकाहरूलाई सीपमुलक तालिमहरू दिन अनिवार्य गर्ने । सरकारले हरेक वर्ष शिक्षण क्षेत्रमा भएका उदारणीय पद्धतिहरूलाई सबै स्कूलहरूको पहुँच हुने गरि तालिम व्यवस्थाहरू गर्ने ।


७) शिक्षक तालिममा लागी परेका साना ठूला तालिम केन्द्रहरूमा तालिमकर्ताको योग्यता, गुणस्तर र पाठ्यक्रमको अनुगमन गर्ने ।


८) शिक्षण पेशालाई गरीमामय बनाउन हरेक क्षेत्रका अब्बल जनशक्तिलाई कमसेकम एक वर्ष भएपनि शिक्षण पेशामा लागेपछि मात्र उच्च शिक्षामा लाग्ने प्रेरणा दिने । गुरूमा हुनु पर्ने निश्वार्थ सेवा भाव जगाउने किसिमका मोटिभेसन कार्यक्रमहरू आयोजना गर्ने ।


९) योग, ध्यान जस्ता जीवनको अपरिहार्य अभ्यासलाई शिक्षक र विद्यार्थी दुबै समुहको लागि अनिवार्य बनाउने । नैतिक मुल्य मान्यताहरू, राष्ट्रियता र सकारात्मक भावहरूलाई विद्यालय शिक्षाको केन्द्रमा राख्ने किसिमका पाठ्यक्रम तयार गर्ने ।


१०) परीक्षा प्रणालीमा गुणात्मक परिवर्तन गर्ने र आन्तरीक मुल्याङ्कनको कदर र सम्मान गर्ने वातावरण बनाउने । अबका सुनौला दिनहरूमा अभिभावक वर्ग, शिक्षक, बुद्धिजिवी वर्गहरू र सरकार मिलेर नेपालमा एउटा अद्वितिय शिक्षा प्रणालिको विकास हुन्छ र त्यस प्रणालीले विश्वलाई नै लाभ हुन्छ भन्नेभावमा एकाकार हौं ।


अन्तमा हामी सबैलाई सत्यता र कर्मशिलताको भाव लागिरहोस् भन्ने शुभकामना दिन चाहन्छु । हरिॐ


(लेखक शौर्या खनाल विगत ६ वर्षदेखि प्रसिद्ध मोडल स्कूलमा प्रधानाध्यापकको रूपमा कार्यरत हुनुहुन्छ । पेशाले शिक्षिका भन्न रुचाउने खनालको शिक्षण पेशा प्रति धेरै नै लगाव र माया छ । यस क्षेत्रमा लाग्दा आनन्द प्राप्त हुने उहाँको भनाई छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *