विद्यालयको जग्गा मिचेको भन्दै ललितपुरमा स्थानीयद्वारा विरोध, मेयरको पुत्ला दहन

काठमाण्डौं/१३ फागुन– ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको भन्दै ललितपुरका स्थानीय बासिन्दाहरूले विरोध गरेका छन् ।
विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा स्थानीयले आज बिहान ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पुत्ला समेत जलाएका छन् । सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम टुंगो नलाग्दै बाटो विस्तार गरिएको भन्दै स्थानीयबासीले विरोध गरेका हुन् ।
२०११ सालमा स्थापना गरिएको सो सरकारी विद्यालयको करीब २७ रोपनी जग्गा सडक विस्तार तथा विभिन्न संरचना बनाउने नाममा अतिक्रमण हुन थालेपछि विरोध गरेको स्थानीय बासिन्दा महेशराज बज्राचार्यले बताए । उनले भने, “जबर्जस्ती रूपमा कानुनको नियम समेतलाई उल्लङ्घन गरेर बाटो विस्तार गरिएको छ । बाटो विस्तार गरिएको स्थान वडा नम्बर ३ मा पर्ने भए पनि वडा नम्बर २० को उपभोक्ता समितिले काम गरेको छ ।”
नेपाल सरकारले २६ चैत २०६९ मा राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर पुल्चोकको मदन स्मारक माविको चौरलाई ‘सार्वजनिक खुला क्षेत्र’ भनिसकेको छ । दायाँ–बायाँ बराबर गरी बाटो निर्माण हुनुपर्ने भए पनि विद्यालयको जग्गा मिचेर एकतर्फी रूपले विस्तार गरिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।
विद्यालयको जग्गा नमिच्न गरेको आग्रहलाई बेवास्ता गर्दै महानगरले सडक विस्तार गरेपछि बाध्य भएर मेयरको पुत्ला दहन गरि विरोध गर्नु परेको सोही विद्यालयका पूर्वविद्यार्थी समेत रहेका बज्राचार्यले बताए । उनकाअनुसार, विद्यालयको पूर्वतर्फको पर्खाल भत्काएर महानगरपालिकाले सडक विस्तार गर्न खोजेलगत्तै स्थानीय र पूर्वविद्यार्थी मिलेर त्यसो नगर्न सुझाव दिएका थिए । तर, त्यसको बेवास्ता गर्दै विद्यालयको पर्खाल भत्काएर करिब ७ आना जग्गा मिचिएको छ । जग्गा मिचिएपछि मेयरलगायतसँग कुराकानी भए पनि त्यसबाट कुनै पनि निकास ननिस्किएपछि स्थानीयबासी क्रोधित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *