नेपाल शिक्षक संघ महाधिवेशन : नेतृत्वमा गएभने डेढी तलब लिन्न

काठमाडौं/२७ चैत-नेपाल शिक्षक संघको ९औं महाधिवेशन यही चैत २८ गतेदेखी ३० गतेसम्म काठमाडौंमा हुन गइरहेको छ । २०७४ सालको चैत ४ गते गठित समितिले २०७८ सालको चैत ४ गते भित्रमा गरिसक्नुपर्ने महाधिवेशन विभिन्न कारणले समयमा हुन सकेन र १३ महिना ढिलो महाधिवेशन हुँदैछ । करिब ६ सय जना महाधिवेशन प्रतिनिधिहरु रहेको नेपाल शिक्षक संघले केही दिनमा नयाँ नेतृत्व पाउने छ । यसै सवालमा अध्यक्ष पदका उम्मेदवार गोकर्ण बानियासँग खबर एजुकेशनले गरेको संवाद :


नेपाल शिक्षक संघको ९औं महाधिवेशन चैत २८ देखि ३० गतेसम्म छ, अध्यक्ष पदको दाबी गर्दै गर्दा तयारी कस्तो छ ?


यो महाधिवेशनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सबै प्रतिनिधि शिक्षकहरुसँग छलफल अगाडी बढाईरहेका छौं । उहाँहरुका सल्लाह सुझाब संकलन गरिरहेका छौं र त्यही अनुसारको विभिन्न गतिविधिहरु गर्दैछौं । साथै अहिले भइरहेको कार्यकाल २०७४ सालको चैत ४ गतेदेखि २०८९ चैत २८ गतेसम्म आइरहँदा के कति कामहरु हुन सके, के काम हुन सकेनन्, कसरि शिक्षकका माग मुद्धालाई पुरा गर्न सकिन्छ र शैक्षिक गुणस्तरमा के भूमिका हुन सक्छ भन्ने विषयमा तयारी गरिरहेका छौं ।


आगामि चार वर्षको नीति तथा कार्यक्रम बनाउने काम भइरहेको छ । बनाइएका नीति कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि नेतृत्व चयनका विषयमा पनि सबै क्षेत्र, भुगोल र विभिन्न पकृतिका शिक्षक भएको हुनाले सबैलाई समेट्ने गरी कार्यक्रम नीति ल्याउने तयारीमा छौं । साथै अग्रजलाई सम्मान, युवाहरुलाई प्रोत्साहन भन्ने नारा राख्दै अग्रज र अनुभविलाई सम्मानका साथ सम्मानित ठाउँमा राख्ने र युवाहरुलाई कामयाबी पदहरुमा राखेर नेपाल शिक्षक संघलाई अगाडी बढाउने तयारी गरेर समितिको चयन गर्नका लागि छलफल गरिरहेका छौं ।


वर्तमान कार्य समितिको समिक्षा कसरी गर्नुहुन्छ ? आम शिक्षकलाई कसरी बुझाउन चाहानु हुन्छ ?


नेपाल शिक्षक संघको ३३ वर्षको इतिहासमा अध्यक्षहरु देवेन्द्र उपाध्यय, केशव भट्टराई, मोहन ज्ञावली, केशव निरौला र राजेन्द्र राज पौडेल गरी पाँच जनाले नेतृत्व गरिसक्नु भएको छ ।


त्यसमा देवेन्द्र उपाध्ययका पालामा धेरै काम भएका छन् जुन जुन सुविधा हमीले पहिला पाएका थिएनौं । जस्तै पेन्सनको व्यवस्था, उपदानको व्यवस्था, औषधि उपचारको व्यवस्था त्यो समयमा भएको थियो । केशव भट्टराइको कार्यकालमा पनि उल्लेख्य रुपमा कामहरु भएका छन् । मोहन ज्ञावलिको कार्यकालमा आवधिक बढुवा हुने व्यवस्था लगायत काम भए । केशव निरौलाको समयमा लामो समयदेखि परीक्षा दिन नपाएका अस्थाइ प्रकृतिका शिक्षकहरुलाई परीक्षा दिन लगाउने र परीक्षामा फेल हुँदा पनि उपदान पाउने महत्वपूर्ण काम भएको थियो । त्यो समयमा म संघीय समितिको उपाध्यक्ष भएको थिए । शिक्षा ऐन मै संशोधन गरेर परीक्षामा फेल हुँदा पनि उपदान पाउने महत्वपूर्ण काम गरेका थियौं ।


तर, २०७४ सालदेखि यता त्यस्तो ठ्याक्कै भन्न मिल्ने उल्लेखनिय काम भएको मैले देखेको छैन । शिक्षकहरुको पेशागत माग मुद्दाका बारेमा काम गरेको मैले देखिन र मैले पाएको छैन, यसमा मलाई अनुभूति नभएको पनि हुन सक्छ । समान्यतया कार्यालय सञ्चालनका कामहरु र जिल्ला तहमा संगाठनिक गतिविधिहरु बढाउनका लागि सदस्यता नविकरण, नयाँ सदस्य बनाउने कामहरु बाहेक अरु कामहरु धेरै भएको छैन । शिक्षक सहकारीको अवधारणा थियो, २०७३ साल सम्म शिक्षक सहकारीहरु ४० जिल्लाहरु जतिमा गठन भएको थियो । तर, सहकारी बढेर ४१ जिल्ला हुन सकेन । त्यसकारण खासै उत्साहजनक कार्यकाल भएको मलाई अनुभुति छैन ।


शिक्षक सघंले माग, मुद्दा र आवज उठाएन भन्ने गुनासो धेरै शिक्षकबाट सुन्ने गरिन्छ । ९औं महाधिवेशनमा हजुरले अध्यक्ष पदमा दाबी गर्दै गर्दा हजुरलाई नेतृत्वमा किन लग्ने ?


नेपाल शिक्षक महासंघमा रहेका १४ वटा घटक संगठनहरु मध्ये नेपाल शिक्षक संघ सबै भन्दा ठुलो घटक हो । महासंघमा शिक्षक संघले अरुको भन्दा बढी भूमिका निर्वाह गर्नु पर्ने थियो । देश भरिका शिक्षक साथीहरुले उठाएका कुराहरु केही हदसम्म जायज छन् । किनभने नेपाल सरकार र नेपाल शिक्षक महासंघ विचमा भएको ५१ बुँदे सम्झौता छ, माग बढ्दै गएर ५१ वटा बुँदा हुनुजेलसम्म समस्याहरुलाई अभिलेखिकरण तथा दस्तावेजीकरण गरेर राखेछौं तर, त्यसलाई सम्बोधन दिन तिर लागेको रैनछौं । समस्या समाधान गर्न लागेनछौं भन्ने मलाई अनुभुति भएको छ । यसको अर्थ शिक्षण पेशामा ५१ वटा रोग रैछ एउटा रोग लाग्ना साथ त्यसको निवारण गर्नु पर्ने थियो ।


५१ बुँदामा सहमति गरेका छौं भनेर महासंघले भनिरहेको छ । त्यसको नेतृत्व नेपाल शिक्षक संघले गरिराखेको पनि छ । महासचिव नेपाल शिक्षक संघ कै भएकाले यसलाई समाधन गर्नुपर्ने थियो भन्ने शिक्षक साथीहरुको कुरा हो तर त्यसो हुन नसक्दा शिक्षक साथीहरुमा वितृष्णा आएको छ ।


मैले प्रष्ट रुपमा के भन्न चाहान्छु भने नेपाल शिक्षक संघले २०८० सालको बैशाख १ गतेबाट हुने नयाँ नेतृत्व आइसकेपछि तालिका नै बनाएर ५१ बुँदालाई माग सम्बोधन गराएर घटाउने गरी लागेका छौं । त्यसै पनि हामीले नयाँ बर्ष नयाँ नेतृत्व नारा बनाएर अगाडी बढेका छौं । शिक्षक साथीहरु सबैलाई स्फुर्त हुनेगरी नेपाल शिक्षक संघले शिक्षण पेशालाई मर्यादित र स्तरीय बनाउन लाग्छौं, त्यसका लागि हामीले लविङ् र एड्भोकेसीका कार्यक्रमहरु ल्याउँछौं । जब सम्म शिक्षक कक्षा कोठामा पस्दा स्वस्फुर्त भएर पस्दैन तबसम्म शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी हुन्न । शिक्षण पेशालाई प्रभावकारी बनाउनका लागि हामीले गर्नुपर्ने कामका बुँदाहरु पूर्ण रुपमा शिक्षक साथीहरुसँग लिन्छौं र त्यसैका आधारमा घोषणा पत्र सार्वजनिक गरेर त्यसलाई लागु गर्न कटिवद्ध भएर लाग्ने छौं ।


शिक्षकका समस्याहरु पुरा गर्नका लािग तपाईका प्रतिवद्धता तथा योजना के के छन् ? साथै शिक्षक संघलाई संस्थागत रुपमा विकास गर्ने योजना कस्ता छन् ?


अहिलेको समय डिजिटल तथा प्रविधि मैत्री समय हो । नेपाल शिक्षक संघको संगाठनिक कुरा गर्नुपर्दा सदस्यहरु स्कुल स्कुलमा गएर रसिद काटेरै शिक्षक संघको सदस्यता दिने, नविकरण गर्ने गर्छौ । म नेतृत्वमा गए भने पहिलो काम भनेको शिक्षक संघलाई प्रविधि मैत्री बनाउने हो । एउटा एप्स तयार गर्ने योजनामा छौं । त्यसैमा नेपाल शिक्षक संघका प्रत्येक सदस्य साथीहरुको सम्पूर्ण विवरण राखेर नविकरण, नयाँ सदस्यता प्राप्ति एपबाटै हुने व्यवस्था मिलाउछौं । साथै जेजति शिक्षक संघका नीति कार्यक्रमहरु हुन्छन् एप्स् मार्फत प्रत्येक विद्यालयका सदस्य शिक्षकहरुका हातहातमा पु¥याउने पहिलो काम गर्छौ ।


अर्को महत्वपूर्ण कुरा भनेको नेपाल शिक्षक संघलाई समावेशी बनाउन सकेका छैनौं । यसका लागि विधान परिवर्तनको खाँचो छ । केही समयपछि विधान अधिवेशन गरेर समावेशी शिक्षक संघ बनाउने योजनामा छौं ।


अन्तमा यदि नेपाल शिक्षक संघको अध्यक्ष भए भने डेढी तलब लिन्न भन्नु भएको छ, यो सक्नु हुन्छ ?


शिक्षक संघको संघीय अध्यक्ष शिक्षक साथीहरुले मलाई बनाउनु भयो भने यो लाभको पद होइन भन्ने कुरा प्रमाणित गर्न चाहान्छु । अहिलेसम्म शिक्षक संघका संघीय समितिका अध्यक्षले विद्यालयमा खाईपाई आएको तलबको डेढी अर्थात खाइपाई आएको तलबमा अर्को ५० प्रतिशत रकम थपेर तलब खाइरहनु भएको छ । तर, म शिक्षक संघको नेतृत्वमा जाँदा एक रुपैयाँ पनि तलब नलिइ निस्वार्थ रुपले काम गर्ने घोषणा गरेको छु । त्यसै अनुरुप नेतृत्वमा गएको खण्डमा दिनरात नभनि शिक्षक साथीहरुका लागि निस्वर्थ रुपमा लड्ने छु ।


अरु साथीहरुको बारेमा म केही भन्दिन तर मेरो व्यक्तिगत सवालमा मैले नलिने तलबको पैसा शिक्षक साथीहरुको नेतृत्व विकासका लागि, तालिम गोष्ठिका लागि खर्च गर्न सकिन्छ । अर्को कुरा अहिले भइरहेको भवनमा भवनको क्षमता हेरेर दुई तला थप गरेर अफिसका लागि प्रयोग गर्न सकिन्छ । साथै जिल्ला बाहिरबाट आउने शिक्षक साथीहरुका लागि बस्ने ठाउँ बनाउन सकिन्छ । शिक्षक कल्याणकारी कोषमा लगाउन पनि सकिन्छ । त्यसकारण तलबि कर्मचारीको जस्तो शिक्षक संघका पदाधिकारी हुनुहुन्न भन्ने स्पष्ट दृष्टिकोण मेरो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *