अध्ययनका नाममा विद्यार्थी विदेश पलायन हुनु देशका लागि डरलाग्दो अवस्था हो

नवलपरासी/२२ चैत-निजि तथा आंगीक क्याम्पस तथा शैक्षिक संस्थाहरु क्रियाशिल छन् । तर, दिनहुँ ७/८ सयको अनुपातमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएर अन्तराष्ट्रिय विमानस्थल छोड्दैछन् । नेपालमै पठनपाठन हुने विषयहरु अध्ययन गर्ने नाममा हजारौं विद्यार्थीहरु अमेरिका,अस्ट्रेलिया,क्यानाडा, जापान लगायतका देशहरुमा लाखौं रुपैयाँ खर्च गरेर दिनहुँ उड्ने गरेका छन् ।


यसले एकातिर देशको सक्रिय दक्ष जनशक्ति रित्तिने निश्चित छ भने अर्कोतिर बार्षिक अर्बौं नेपाली रुपैयाँ विदेशिएको छ । विदेशी रुपैयाँ सञ्चिती नहुँदा अन्तराष्ट्रिय व्यापारमा लगानी गर्न कठिन छ । विदेशीएका विद्यार्थीहरुलाई सम्बन्धित देशले पिआर, ग्रिनकार्डको व्यवस्था गरि विदेशमा कमाएको पैसा उतै रोक्ने अवस्थाको सिर्जना गरेका छन् । यो देशको लागि डरलाग्दो अवस्था हो ।


देश भित्रै रोजगारी सिर्जना गर्न नसक्दाको परिणाम आज युवाहरु विदेशीन बाध्य छन् । खाडी लगायत तेस्रो मुलुकको विप्रेषणले धानीएको देशको अर्थतन्त्र धराशायी बनेको छ । देश भित्रै पढाइ हुने विषय अध्ययन गर्न विदेशीने विद्यार्थीहरुलाई नरोक्ने हो भने देशले ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने निश्चित छ । विदेश पढ्न जानै पर्यो भने नेपालमा अध्यापन नहुने विषय र पुर्ण छात्रवृत्तिमा मात्रै जाने अनुमती दिनु पर्छ र अध्ययन पूरा गरेपछि नेपाल फिर्ता हुने सर्तमा उनीहरुलाई अध्ययनमा पठाउनु पर्छ ।


तर, देशका शासकहरु देशको कृषि भुमी बाँझो राखेर दक्ष जनशक्तिलाई विदेश धकलेर तिनिहरुकै रगत पसिनामा होली खेल्न पल्केका छन् । दिनहुँ विदेशीने युवाहरुको बारेमा यहाँ कसैलाई चासो र चिन्ता छैन । शैक्षिक तथा वैदेशिक रोजगारको नाममा लाखौं लुट्ने माफिया–दलालहरुले राज्य सत्तामा पहुँच बनाएका छन् ।


कक्षा ११/१२ पश्चात अध्ययन गर्ने विद्यार्थीहरु अब औंलामा गन्न सक्ने संख्यामा मात्रै रहने छन् जुन् आर्थिक र बौद्धिक अभावमा बाध्यात्मक कारणले रहेका हुनेछन् । यसको बारेमा समयमै स्वतन्त्र शैक्षिक विद्वानहरुले बहस चलाउन र सरकारलाई आवश्यक दबाब दिन जरुरी छ ।


(कुसुम न्यौपाने जनता मा वि मंगलचौर, अरुणखोला, नवलपरासीका शिक्षक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *