एसईई परीक्षामा विज्ञान विषयको यसरी लेख्नुहोस् उत्तर

काठमाडौं/२१ चैत-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को विज्ञान विषयको परीक्षा चैत २२ गते बुधवार सञ्चालन हुने समय तलिका निर्धारण गरेको छ । यो वर्ष विद्यार्थीलाई परीक्षाको तयारी गर्न सहज होस् भनेर २१ गते कुनै पनि परीक्षा सञ्चालन गरेको छैन । परीक्षा नियन्त्रण कार्यालयका अनुसार विद्यार्थीले गाह्रो मानेका विषयको परीक्षा हुने अघिल्लो दिन कुनै पनि परीक्षा सञ्चालन नगरिएको जनाएको छ । एसईईमा परीक्षा हुने विषय मध्ये विज्ञान विषय विद्यार्थीका लागि गाह्रो हुने विषय मानिएकोले यसको तयारी गर्दा ध्यान दिएर पढ्नुपर्ने हुन्छ । यसै सन्दर्भमा विज्ञान विषयको एसईई परीक्षा हुनु भन्दा अघिल्लो दिन विद्यार्थीले कसरी तयारी गर्ने र परीक्षामा लेख्दा के के कुरामा ध्यान दिन आवश्यक छ भन्ने सवालमा नेपाल पुलिस स्कुल साँगाका शिक्षक तथा पाठ्यक्रम विकास केन्द्रका विषय विज्ञ हरिप्रसाद रेग्मीले दिएका सुझाब यस्ता छन् :


१. प्रश्नपत्र प्राप्त गरेपछि विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु


क) सर्वप्रथम प्रश्नहरु राम्रोसँग पढ्ने ।


ख) प्रश्नले खोजेको उत्तरको पहिचान गर्ने ।


ग) दिइएको सन्दर्भहरु र प्रश्नहरु एकपछि अर्को गर्दे सम्बन्ध खोज्ने ।


घ) एक पटक पढ्दा सम्बन्ध फेला परेन भने अर्को प्रश्न तर्फ लाग्ने यसले समयको वचत गर्छ ।


ङ) दिइएको सन्दर्भहरु र प्रश्नहरुको सम्बन्ध फेलापरेपछि मात्रै उत्तर लेख्ने ।


च) गणितिय समस्या समाधान गर्दा एकाई परिवर्तनहरु एकदमै ध्यान दिने । एकाईहरु एउटै भएन भने उत्तर आउने सम्भावना कम हुन्छ त्यसकारण एकाई परिवर्तनमा एकदमै ध्यान दिनुपर्छ ।


छ) चित्र कोर्ने खालको प्रश्नमा जुन भागको नामाङ्कन गर्न भनिएको छ, त्यो भाग प्रष्टसँग लेख्ने र जतिवटा भनिएको छ त्यति मात्रै लेख्ने । अनवश्यक बढी लेख्दैमा नम्बर धेरै आउँदैन त्यसैले बढी लेखेर समय खेर नफाल्ने ।


ज) सकेसम्म एउटा पेजबाट अर्को पेजमा एउटै प्रश्नको उत्तर लेख्दा प्रश्न नं……को बाँकी उत्तर भनेर लेख्न नछुटाउने ।


झ) एउटै प्रश्न भित्र पुच्छ«े प्रश्न छ भने प्रत्येक प्रश्नको छुट्टा छुट्टै उत्तर लेख्ने ।


२. ज्ञान तहका प्रश्नको उत्तर लेख्दा ध्यानदिनुपर्ने कुराहरु


ज्ञान तह अन्तर्गत १५ वटा प्रश्न हुन्छन् । यो समुहमा आउने प्रश्नको उत्तर विद्यार्थीले एक शब्दमा वा एक वाक्यमा लेख्नु पर्छ । विद्यार्थीले लेख्दा, तथ्यगत कुरालाई वा कक्षा कोठामा पढेका कुरालाई प्रष्ट लेख्नुपर्छ । जस्तै : नियम हुनसक्छ, परिभाषा हुनसक्छ, पेरियोडिक तालिका सम्बन्धी नियम पनि हुनसक्छ ।


३. बोध तहका प्रश्नको उत्तर लेख्दा ध्यानदिनुपर्ने कुराहरु


यो तहमा ज्ञानको सामान्य प्रयोग हुन्छ । यसमा मेन्टल प्रोसेसबाट उत्तर आउनेखालको हुन्छ । जस्तै : कुनै राशिविच फरक छुट्टयाउनु पर्ने, अर्डर मिलाउनुपर्ने, क्लासिफाइड गर्नुपर्ने, सम्बन्ध स्थापना गर्नुपर्ने हुन्छ ।


यस्ता खालका प्रश्नमा विद्यार्थीहरुले फरक छुट्याउँदा एउटै डोमेनमा रहेर छुट्याउनु पर्छ । जस्तै : पहिलो बुँदामा परिभाषा लेखिएको छ भने दबैको परिभाषा नै लेख्नुपर्छ ।


४. प्रयोग तहका प्रश्नको उत्तर लेख्दा ध्यानदिनुपर्ने कुराहरु


प्रयोग तहका प्रश्नहरु भनेको सिन वा अनसिन परिस्थितिको आधारमा ज्ञानको प्रयोग गर्ने भनेर बुझिन्छ । यसमा सिच्युएसन सन्दर्भका आधारमा प्रश्न सोधिन्छ । यसको उत्तर लेख्दा कक्षा कोठामा सिकेको कुराहरुको आधारमा सिच्युएसन पढेर उत्तर दिने हुन्छ ।


यसमा दुई खालका प्रश्न आउँछन् । एउटा कक्षाकोठामा पढेको आधारमा र त्यही पढेर उत्तर दिनुपर्ने हुन्छ । अनसिन सिच्यएसन दिइन्छ त्यसैको आधारमा प्रश्न निर्माण गरीन्छ । विद्यार्थीले दिएको सिच्युएसन पढेर त्यसैका आधारमा उत्तर दिनुपर्छ ।


जस्तै : कुनै एउटा चित्र दिइयो, चित्रमा कुनै पाठहरुलाई A,B,C भनेर नाम दिइन्छ र त्यो A,B,C लाई पहिला चिन्ने । त्यसरी चिनिसकेपछि दिइएको सन्दर्भको आधारमा प्रयोग गर्ने ।


५. उच्च दक्षता तहका प्रश्नको उत्तर लेख्दा ध्यानदिनुपर्ने कुराहरु


उच्च दक्षता भन्नाले विज्ञानलाई समाजसँग जोड्ने दक्षता भन्ने बुझिन्छ । दैनिक जीवनसँगै सरोकार राख्ने सन्दर्भहरुको आधारमा प्रश्नहरु निमार्ण हुन्छन् । ती प्रश्नहरु व्यवहारिक जीवनसँग सरोकार राख्ने समस्याहरु समाधान गर्न सोधिने गरिन्छ । जस्तै : विश्लेषणात्मक प्रश्नहरु, मुल्याङ्कन र क्रियसन तहका प्रश्नहरु यसमा पर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *