शिक्षक सरुवा तथा नियुक्तिमा गलत लिखित तयार गर्ने ३ जना उपर मुद्दा दायर

काठमाडौं/२० चैत-शिक्षक सरुवा तथा नियुक्तिमा गलत लिखित तयार गर्ने ३ जना उपर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।


साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप–जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख वासुदेव तिमल्सिना सहित ३ जना उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरिएको हो ।


सर्लाही जिल्ला, हरिपूर्वा नगरपालिका वडा नं. ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायले डिम जनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय, सर्लाहीको उप–जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा भई कार्यरत रहेको भन्ने उजुरी निवेदनका आधामा अख्तियार अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको जनाएको छ ।


साथै साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप–जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख (उपसचिव) वासुदेव तिमल्सिनाले साविक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएको पाँचु रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख वेगर नै हाजिर गराएको पाइएको छ ।


वासुदेव तिमल्सिनाले साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका शिक्षक सरुवा पदस्थापन गर्ने अधिकार प्राप्त अधिकारीको निर्णय विना नै पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीको नियुक्ति समर्थन/अभिलेख कायम तथा सरुवा पदस्थापन विषयको नक्कली लिखत बनाई श्री केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा पदस्थापना गरी वदनियतपूर्वक सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाएको अख्तियारले जनाएको छ ।


आयोगले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *