एसईईका विद्यार्थीले गणितको परीक्षामा लेख्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं/१८ चैत-योे वर्षको एसईई परीक्षा चैत १७ गतेदेख सुरु भइसकेको छ । परीक्षामा धेरै नम्बर ल्याउने रहर सबै विद्यार्थीलाई हुन्छ नै । तर , सामान्य कुरामा पनि ध्यान दिन नसक्दा वा वास्तै नगर्दा आफुले सोचेको जस्तो नम्बर नआएको विद्यार्थीले बताइरहेका हुन्छन् । विद्यार्थीहरुलाई कहाँ गल्ती भयो पत्तो हुँदैन । यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले गणित र विज्ञान विषयको परीक्षाको अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । धेरै विद्यार्थीहरुलाई गणित विषय गाह्रो हुने गरेकोले अघिल्लो दिन परीक्षा नराखिएको हो । उनीहरुलाई गणित विषय कसरी अध्ययन गर्ने, आफुले कसरी बुझेर पढ्ने र परीक्षा हलमा गईसकेपछी उत्तरपुस्तिकामा कसरी लेख्ने भन्ने जानकारी नहुँदा पनि नम्बर कम आउने गरेको देखिन्छ । एसईईको परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई गणित विषयको तयरीका बारेमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख उपप्रध्यापक विनोद प्रसाद पन्तले दिएका सुझाब यस्ता छन् ।


१. तपाईको शिक्षक, विद्यालय तथा अभिभावकहरुले तपाईलाई यति धेरै सहयोग गर्नुभएको छ र तपाई आफैले पनि यति धेरै मेहनत गर्नुभएको छ । त्यसैले तपाईको गणितको परिक्षा धेरै राम्रो हुनेछ भन्ने कुरामा विश्वस्त हुनुहोस् ।


२. गणितका विभिन्न पाठहरु मध्ये तपाई कुन पाठका समस्याहरु समाधान गर्न सहज महसुस गर्नुहुन्छ, कुन पाठका समस्याहरु समाधान गर्न ठिक ठिकै वा कठिन महसुस गर्नुहुन्छ, त्यस अनुसार तयारीको योजना निर्माण गर्नुहोस् । योजना निर्माण गर्दा कुनै विषय वस्तु तपाईलाई अतिनै कठिन लाग्दछ र यस भन्दा अगाडी पनि धेरै समय दिँदा पनि बुझ्न सक्नु भएको छैन भने परीक्षाको अघिल्लो दिन त्यसैलाई समय दिनु भन्दा अन्य विषय वस्तुमा ध्यान केन्दि«त गर्नु वुद्धिमता हुन्छ ।


३. गणितका समस्याहरु समाधान गर्दा आवश्यक पर्ने सुत्रहरु राम्ररी बुझ्नुहोस् । सुत्रहरु नबुझिकन कण्ठस्त मात्र पार्दा परीक्षाहल भित्र पसेपछि नौलो परिवेशमा कुनै कारणले सुत्रहरु बिर्सियो भने एकै छिनमा निर्माण गर्न सक्ने हुनु राम्रो हुन्छ । उदाहरणको लागि कतिपय विद्यार्थीहरुले एकपट्टी तिखारेको सिसाकलम वा दुवैतर्फ तिखारेको सिसाकलमको पुरासतहको क्षेत्रफल पत्तालगाउने तरिका एउटै सुत्रजस्तो बनाई कण्ठस्त पारेको देखिन्छ । त्यो राम्रो तरिका होइन । दुवैतर्फ तिखारेको सिसाकलममा एउटा बेलना र दुईवटा सोलीआकार हुन्छ भन्ने बुझेमा सजिलैसँग समस्या समाधान गर्न सकिन्छ ।


४. प्रश्नपत्र हेरिसकेपछि जुन प्रश्नहरुमा आफु सहज महसुस गर्नुहुन्छ, त्यसबाट सुरु गर्नुहोस् । तपाईलाई अप्ठ्यारो लाग्ने प्रश्नको समाधानमा सुरुमै प्रयास गर्दा पछि समय अभावले आफुलै सहजै गर्न सकिने प्रश्नहरु पनि समाधान गर्न समय अपुग हुनसक्छ ।


५. परीक्षामा प्राप्त गर्ने अंकको दृष्टिकोणले हेर्दा १ अंकको ५ ओटा प्रश्नहरु समाधान गर्नु र ५ अंकको १ ओटा प्रश्न समाधान गर्नु एउटै कुरा हो । कुनै १ अंकको प्रश्न समाधान गर्न धेरै समय लाग्न पनि सक्दछ । त्यस्तो अवस्थामा १ अकंकै प्रश्नमा अल्झिनु भन्दा २, ४, वा ५ अंकको प्रश्नतिर जाँदा राम्रो हुन्छ ।


६. कुनै प्रश्नको समाधानको प्रयास गर्दा हल गर्न सकिएन भने पनि नआत्तिकन त्यस समस्यालाई अर्को तरिकाबाट पनि समाधान गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ प्रयास गर्ने । अर्को पटक प्रयास गर्दा पनि समाधान गर्न सकिएन भने त्यसलाई छोडेर अर्काे प्रश्नतिर जाने । पछि समय बाँकी रहेमा फेरी उक्त प्रश्न समाधान गर्न प्रयास गर्ने ।


७. परीक्षामा आफुलाई आवश्यक पर्ने सबै सामानहरु लिएर जाने ।


सबैलाई परीक्षाको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *