राजीनामा दिने शिक्षकको संख्या बढ्यो, ८ महिनामा ११ सय बढीले दिए राजीनामा

काठमाडौं/१५ चैत-यो आर्थिक वर्षमा राजीनामा दिने शिक्षकको संख्या बढेको छ । पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या बढ्न थालेको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयले जनाएको छ ।


यो आर्थिक वर्षको फागुन महिनासम्म २३ सय ६३ जना शिक्षकले निवृत्तिभरण पत्र लिइसकेको र त्यस मध्ये करीब ११ सय बढी शिक्षकले राजीनामा दिएको राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले बताए ।


राजीनामा बढ्नुको कारणमा धेरै पालिकाहरुले अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थालेको र ३० वर्ष सेवा पुगीसकेका शिक्षकहरु जाउन भन्ने उदेश्यले प्रोत्साहन भत्ता दिएका कारण जागीर छोड्नेको संख्या बढ्न थालेको खकुरेलले बताए ।


उनले शिक्षकहरुलाई अहिले औषधि उपचार खर्च दिइरहेको तर शिक्षक अस्पताल बनाउँदै गरेकोले अस्पताल बनिसकेपछि पैसा नदिने हल्लाका कारण पनि यो संख्या बढेको बताए । तर, यस्तो कुनै निर्णय नभएको र अस्पताल बनेपनि औषधि उपचार खर्च सरकारले दिने बताए ।


“कोभिड पछि धेरै विद्यालयहरुले अंग्रेजी माध्यमसँगै प्राविधिक रुपमा (आइटी) पठनपाठन गर्न थालेपछि शिक्षकहरुले राजीनामा दिएको बताउने गरेका छन्” उनले भने । यो सँगै शिक्षा विभागले दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भयले पनि कतिपय शिक्षकले राजीनामा दिएको खकुरेल बताउँछन् । दरबन्दी मिलान गर्दा आफ्नो पालिकाबाट अर्को पालिकामा अथवा अर्को जिल्लामा सरुवा हुने डरले पनि जागीरबाट राजीनामा दिने क्रम बढेको उनको भनाइ छ ।


खकुरेलका अनुसार माघ महिनामा अनिवार्य अवकाश लिनेको संख्या १ सय ५८ छ भने राजिनामा दिने शिक्षकहरुको संख्या १ सय ४२ रहेको छ । त्यस्तै फागुन महिनामा अनिवार्य अवकाश लिने २ सय २९ र राजिनामा दिने शिक्षक १ सय ६६ रहेका छन् ।


अघिल्लो आर्थिक वर्षमा ४ हजार ९ सय ८१ जनाले निवृत्तिभरण पत्र लगाएतको सुविधा लिएका थिए । तर, अघिल्लो वर्षमा पेन्सन नभएका र २० वर्ष नपुगेका १ हजार ८ सय ९८ जनाले राजिनामा दिएको महानिर्देशक खकुरेलले जानकारी दिए । २ सय ५५ जनाले उपदान लिएका छन् । यो आर्थिक वर्ष अझै ४ महिना बाँकी रहेको र यो संख्या बढ्ने उनको भनाइ छ ।


१८ अर्ब बढी रकम पेन्सन र औषधि उपचारमा खर्च


राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले हरेक वर्ष १८ अर्ब बढी रकम पेन्सन र औषधि उपचारमा खर्च हुने गरेको बताए । उनले १२ अर्ब ७० करोड पेन्सन भत्तामा र ६ अर्ब ३० करोड औषधि उपचार,उपदान विरामी विदाको लागि रकम वितरण गरिने जानकारी दिए ।


उनका अनुसार करीब करीब ४८ हजार सेवा निवृत्त शिक्षकहरु रहेको र उनीहरुले पेन्सनको सुविधा लिइरहेका छन् । त्यसैगरी १ लाख ९ हजार १ सय २५ दरबन्दी रहेकोमा प्रावि तहमा ८० हजार १ सय ७६, निमावि तहमा १६ हजार २ सय २४ र मावि तहमा १२ हजार ७ सय २५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *