काठमाडौं/९ चैत-होटेल म्यनेजमेन्ट सञ्चालन गरेका केही कलेजहरुले इन्टर्नशिपका नाममा विद्यार्थीसँग मोटो रकम असुलेर विदेश पठाउने धन्दा गरेको पाइएको छ । उनीहरुले कम्तिमा १ देखि ५ लाखसम्म विद्यार्थीबाट रकम असुलेर विदेश पठाउने गरेको पाइएको हो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार त्यस्ता कलेजहरुले विद्यार्थीलाई इन्टर्नसिपमा पठाउने नाममा काम गर्न विदेश पठाइरहेको जनाएको छ । विद्यार्थीलाई भर्ना लिँदा नै उनिहरुले इन्टर्नशिपको लागि रकम आवश्यक पर्ने भन्दै विद्यार्थीबाट रकम लिइएको पाइएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतले भन्यो “केही कलेजहरुले पढाउने भन्दा पनि पैसा कै लागि विद्यार्थीसँग मोटो रकम लिने र इन्टर्नशिपका नाममा विदेश पठाउने काम गरेका छन् । उनीहरुले मन्त्रलयको अनुमति विना ती देशमा आफै गएर होटेलहरुसँग सम्झौता गर्ने र विज्ञापन गरेर विद्यार्थी भर्ना लिने गरेको पाइए पछि यसलाई रोक्न मन्त्रालय लागेको छ ।”
पछिल्लो समय विद्यार्थीहरुसँग मोटो रकम लिएका केही कलेजहरु एनओसी शाखामा र शिक्षा मन्त्रालय सिंहदरबार धाइरहेको स्रोत बतायो । तर, मन्त्रालयको अनुमति नै नलिइ विद्यार्थी पठाउन एनओसीका लागि आवेदन दिएपछि एनओसी शाखाले यसलाई रोकेको छ ।
उनीहरुले विद्यार्थीलाई एन्टर्नशिपका लागि लाने भनेर भर्ना लिइएका कारण आफुहरुलाई विद्यार्थीका अगाडी मुख देखाउन गाह्रो हुने भन्दै एनओसी जारी गर्नका लागि आग्रह गरेको स्रोतको भनाई छ ।
मन्त्रालयले मलेशिया, चिन,थाइल्यण्डका लगाएतका देशहरुमा गएर इन्टर्नशिप गर्नका लागि अनुमति दिने गरे पनि केही कलेजहरुले आफै निर्णय गरे अन्य देशमा विद्यार्थी पठाउन खोजेपछि त्यस्ता कलेजलाई एनओसी नदिने निर्णय गरेको छ ।