काठमाडौं/५ चैत-शिक्षाविद् प्र.डा. बालचन्द्र लुइँटेलले शिक्षक र प्रधानाध्यपकले नै विद्यालय सुधार गर्ने बताउँदै शिक्षकलाई गालि गरेर मात्रै विद्यालय शिक्षा सुधार नहुने बताएका छन् । शुक्रबार पनौतिका ३४ सार्वजानिक विद्यालयका शिक्षक, अभिभावक र विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधिहरुसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
शिक्षाविद् लुइँटेलले सामाजिक सञ्जालमा कतिपय अवस्थामा सरकारहरू (पालिका पनि) शिक्षा सुधारमा बेखबर रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘पनौतीको भेलामा मेयर र वहाँको प्रतिनिधि देखिएनन् । खबर नभएर हो अथवा नभ्याएर हो ? हामीले ठ्याक्क १० महिना अगाडी बनेपा र पनौतिका मेयरहरूलाई भेटेर कुरा राखेका थियौँ । बनेपा बाट बल्ल १ हप्ता अगाडी काम गरीदिनुपर्ने अनुरोध आयो । पनौतीबाट आउदै होला ।’
सामाजिक सञ्जालमा यसरी लेखेका छन् शिक्षाविद् प्र.डा. बालचन्द्र लुइँटेलले :
शुक्रबार पनौतिका ३४ सार्वजानिक विद्यालयका चिन्तित शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिज्यूहरुसँग कुराकानी पछि मेरा मनमा खेलेका कुराहरू :
१) गएको २३ बर्ष जतिको द्रुत परिवर्तनलाई राज्य, समुदाय, नेता, नागरिकले अनुभुत त गरेको देखिन्छ । तर यो परिवर्तनलाई शिक्षाका अबयबसँग कसरी जोड्ने भन्ने कुराको हेक्का राख्न सकेको देखिन्न ।
२) शिक्षकलाई अलिक धेरै गाली गर्ने कुरा यत्र तत्र सुनिन्छ । पनौतीमा पनि सुनियो । गाली गरेर र गाली खाएर समस्या समाधान हुन्न । तर विद्यालय सुधार्ने शिक्षक र प्रधानाध्यापकले नै हो ।
३) कतिपय अवस्थामा सरकारहरू (पालिका पनि) शिक्षा सुधारमा बेखबर छन् । पनौतीको भेलामा मेयर र उहाँको प्रतिनिधि देखिएनन् । खबर नभएर हो अथवा नभ्याएर हो ? हामीले ठ्याक्क १० महिना अगाडी बनेपा र पनौतिका मेयरहरूलाई भेटेर कुरा राखेका थियौँ । बनेपाबाट बल्ल १ हप्ता अगाडी काम गरीदिनुपर्ने अनुरोध आयो । पनौतीबाट आउँदै होला ।
४) विश्वविद्यालयहरूको सिकाई सुध्रदा विद्यालयको सिकाईमा निकै धेरै फरक पर्छ किनभने शिक्षक उत्पादन गर्ने भनेको विश्वविद्यालयले हो । शिक्षक राम्रो सिकारू बनिसकेपछि विद्यार्थीको सिकाई त्यसै सुध्रन्छ । तालिमले धेरै सुध्रने त्यतिबेला हुन्छ जब शिक्षक जिवनपर्यन्त सिकाईमा लाग्छन् ।
५) शिक्षकको परिपुर्ति र व्यवस्थापन नगरीएको शिक्षा प्रणालीले काम गर्न सक्दैन । हामीले शिक्षक वितरण विद्यार्थी र पाठ्यक्रमको आधारमा गर्न सकेको देखिन्न । विद्यालय प्रणालीमा १–८ र ९–१२ छ भने, शिक्षक वितरणमा १–३, ४–८, ९–१०, ११–१२ को सँरचना छ । अझ ११–१२ लाई शिक्षक परिपुर्तिको आख्यानमा अझै एकिकृत गरिएको पाईन्न ।
६) विद्यालयको नक्साङ्कन गर्ने, चल्ने स्कूलमा नचलेका गाभ्ने, आवश्यक श्रोत उपलब्ध गराउने, जनसँख्या अनुसार विद्यालयको अवस्थिति तोक्ने, र शिक्षालाई सेवासँग जोड्ने हो भने सार्वजानिक शिक्षाको भविष्य उज्वल छ ।
७) विद्यालय सुधार गर्छु भनेर प्रतिबद्धता सहित काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड)मा सहयोग माग्ने प्रधानाध्यापक, शिक्षक, तथा समुदायका अगुवाहरू जो सुकै सँग हामी काम गर्न तयार छौँ, प्रतिबद्धता बिनाको कुराले मात्रै केही हुन्न सिवाय समयको बर्बादी, पनौतीका सहभागी सबैको प्रतिद्धता राम्रै झल्किन्छ ।
(शिक्षाविद् प्र.डा. बालचन्द्र लुइँटेल काठमाडौं विश्वविद्यालय,स्कुल अफ एजुकेशनका डिन हुन् ।)