प्रधानमन्त्रीको जन्मदिनमा गाउँपालिकामा बिदा, १५ सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

काठमाण्डौं/११ फागुन– सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनको अवसर पारेर आज तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री ओलीको जन्मदिन पहिलोपटक जन्मघरमा मनाउन लागेकाले जन्म दिनको अवसरमा गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेकाे छ । सो कार्यक्रममा सहभागी जनाउन प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत् जन्मथलो तेह्रथुमको आठराई जाने भएका छन् । गाउँपालिकाले कार्यक्रममा सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूलाई तोकेको ड्रेस कोडमा अनिवार्य उपस्थिति हुन निर्देशन समेत दिएको छ ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार प्रधानमन्त्री ओलीको जन्म दिवस मनाउन विभिन्न कार्यक्रमको आयोजना गर्दै उनी जन्मिएकै घरमा मनाउन लागिरहेको हो । जन्मदिनको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले चार सय जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडालगायत १५ सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुकेपोखरीदेखि भानु आधारभूत विद्यालय हुँदै ढुङ्गेसाँघुसम्म पुग्ने सडकको शिलान्यास गर्नुका साथै आठराईमा रहेको नेपाल बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रममा सरिक हुनेछ । कार्यक्रममा सुरक्षा व्यवस्थाका लागि प्रहरी र सेना गरी २०० भन्दा बढी सुरक्षाकर्मी खटाईएको छ ।
प्रधानमन्त्री ओलीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ) मा पर्छ । अघिल्लो साता एन्जियोग्राफी गराएका प्रधानमन्त्री ओलीले ६९ औं जन्मदिन आफ्नो जन्मथलोमै मनाउने ईच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई ध्यानमा राखेर उनको सहजताका लागि जन्मघर नजिकै हेलिप्याडसमेत निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *