आरआर क्याम्पसमा अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झडप, दर्जनौं घाईते

काठमाण्डौं/५ फागुन– काठमाण्डौंको प्रदर्शनीमार्ग स्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा दुई विद्यार्थी सङ्गठनबीच आज झडप भएको छ ।
बिहान पढाईको समय चलिरहेको बेलामा नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु) र प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच झडप भएको हो ।
गत शनिबार दुवै संगठनका विद्यार्थी पिकनिक गएका थिए । सोही विषयलाई लिएर भएको सामान्य विवादले राजतीनिक रुप लिएपछि दुवै संगठनका विद्यार्थीबीच कुटाकुट भएको आरआर क्याम्पस स्ववियु सभापति तपेन्द्रजंग शाहीले बताए । पुरानो रिसइबीलाई लिएर दुई सङ्गठनका विद्यार्थीबीचको झगडा हानाहानसम्म परिणत भएपछि क्याम्पसमा प्रहरी आइपुगेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले केही विद्यार्थीमाथि लाठीचार्जसमेत गर्नुपरेको थियो भने केही प्रहरी सामान्य घाइते भएका थिए । झडपमा पक्राउ पर्नेमा सञ्जिव ढकाल, सुनिल शर्मा, पुष्कर बास्तोला, रामजी बस्नेत, उमेश गुरुङलगायतका विद्यार्थीहरू रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।
झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने, आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईते भएका छन् । उनीहरू सबैको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
अनेरास्ववियुको बढी पकड रहेको उक्त आरआर क्याम्पसमा विभिन्न पार्टीसम्बद्ध विद्यार्थी सङ्गठनबीच पटक–पटक झडप हुने गरेको छ । नेपाल विद्यार्थी संघका महामन्त्री भट्टराईले विज्ञप्तिमार्फत् घटनाको घोर भत्र्सना गर्दै पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गरेका छन् ।
विज्ञप्तीमार्फत् उनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषिमाथि कारवाही नगरे देशव्यापी आन्दोलन गर्ने आक्रोश समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *