अपाङ्गता भएका शिक्षकको माग : विद्यालय छनोट गर्न पाउँनु पर्छ

काठमाडौं/१५ पुस-सरकारले शिक्षक पदस्थापनाका नाममा अपाङ्गता भएका शिक्षकलाई दुःख दिएको अपाङ्गता भएका शिक्षकहरुले गुनासो गरेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रियामा राज्यले अपाङ्गता भएका शिक्षकलाई पदस्थापनाका नाममा दुःख दिएको गुनासो गरेका हुन् ।


नेत्रहीन युवा सङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आयोजना गरेको कार्यक्रम “अपाङ्गता भएका शिक्षकका सवालहरु बारे अन्तरर्किया” कार्यक्रममा बोल्दै नेत्रहीन युवा सङ्घ नेपालका अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका शिक्षकले विद्यालय छनोट गर्न पाउने व्यवस्थालाई सरकारले हटाएर योग्यता क्रमको आधारमा विद्यालय छनोट गर्ने नीति ल्याएको बताए । उनले यस्तो नीतिले अपाङ्गता भएका शिक्षकलाई अन्यायको भएको बताउँदै पुरानै नीति अनुरुप नै शिक्षक पदस्थापना हुनुपर्ने माग राखेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने “अपाङ्गता भएका शिक्षकहरुले भौतिक पूर्वाधार राम्रो भएको र सुविधा सम्पन्न क्षेत्रमा रहेका विद्यालयहरु आफुहरुले पहिला रोज्न पाउनुपर्ने नीतिलाई लागू गर्नुपर्छ । साथै उत्कृष्ट क्षमता देखाउन पाउने वातावरण सिर्जना गरिनुपर्छ । किनभने अपाङ्गता भएका शिक्षकलाई हरेक कुराको समस्या हुन्छ सधै अरुलाई कति दुःख दिने ।”


साथै यो विषयमा मन्त्रालयलाई कुरा गर्दा विभागलाई देखाउने र विभागसँग कुरा गर्दा मन्त्रालयलाई देखाउँदै तर्कने गरेको र आफुहरुलाई धेरै दुःख दिएको गुनासो गरे । सरकारले यस्तै व्यावहार गरिरहे आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।


श्री मण्डली माध्यमिक विद्यालय पाल्पामा प्रावि तहमा कार्यरत शिक्षक सिर्जना ढकालले अपाङ्गता भएका शिक्षकले भौतिक वातावरण, बाटोघाटोको समस्या, शौचालाय लगायतका विभिन्न दुःख भोग्नु परेको बताउँदै पदस्थापना गर्दा पुरानै व्यवस्था अनुसार विद्यालय रोज्न पाउनुपर्ने बताइन । उनले योग्यताक्रमका आधारमा विद्यालय रोज्ने नीतिले शिक्षकलाई अन्याय भएको भनाई राखिन ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाका अधिकृत नारद धमलाले अपाङ्गता भएका शिक्षकहरुको समस्या आफुले नजिकबाट हेरिरहेको बताउँदै पदस्थापनालाई पारदर्शि बनाउन मन्त्रालयले पदस्थापना आधार तथा मार्गदर्शनमा योग्यताक्रमका आधारमा विद्यालय छनोटको नीति बनाएको बताए । उनले यस बारे अपाङ्गता भएका शिक्षकले मन्त्रालयमा निवेदन दिन आग्रह गर्दै आफुले पनि मन्त्रालयलाई अवगत गराउने बताए ।


सरकारले पदस्थापना गर्दा अपाङ्गता भएका शिक्षक, महिला शिक्षक गरी क र ख वर्गका शिक्षकले विद्यालय छनोट गरेपछि खुल्ला शिक्षकले योग्यताका आधारमा विद्यालय छनोट गर्न पाउने व्यवस्थालाई हटाई २०७८ कार्तिक १८ गते मन्त्रिस्तरिय निर्णयबाट योग्यता क्रमका आधारमा मात्रै विद्यालय छनोट गर्नुपर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *