प्याब्सकको आयोजनामा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने

काठमाण्डौं/२० माघ– निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा यही माघ २२, २३ र २४ गते अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।
प्याब्सकले आज पत्रकार सम्मेलन गर्दै “विकास, अनुशासन र गतिशीलता खेलाडिको पहिचान” “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागिरहेकोे जानकारी दिए ।
लुम्बिनी फुटसल ग्राउण्ड, चुच्चेपाटीमा हुन गईरहेको उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ वटा विद्यालयको सहभागिता रहने निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अध्यक्ष गेहेन्द्र लामाले जानकारी दिए ।
विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गर्न र अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन यस वर्ष चौथो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना हुन गईरहेको पनि उनले बताए । ‘यो प्रतियोगितामार्फत् देशका लागि उत्कृष्ट खेलाडीहरुसमेत जन्माउने हाम्रो लक्ष्य रहेको छ । यसका साथै विभिन्न विद्यालयहरूबीच भाईचाराको सम्बन्ध रहने छ ।’ अध्यक्ष लामाले भने ।
कक्षा नौ सम्मका विद्यार्थीहरू मात्र सहभागी रहने सो प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय विजेता र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रू १००००, रू ८०००, रू ७००० र रू ५००० नगदका साथै आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । क्वाटरफाईनल पछिका खेलहरूमा भने ‘म्यान आफ दि म्याच’ छनौट गरि ट्रफि प्रदान गरिनेछ । यसका साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, उदयमान खेलाडी र प्रशिक्षकहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *