प्याब्सनको इतिहासमा पहिलो पटक ‘विद्यालय शिक्षा’सम्मेलन सम्पन्न, सहभागि प्रिन्सिपल र शिक्षक उत्साहित

काठमाडौं/१० माघ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजन गरेको ‘विद्यालय शिक्षा’ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मलेन सम्पन्न भएको छ ।

नेपालको विद्यालय शिक्षाको क्षेत्रमा गुणस्तर र व्यवस्थापनमा नयाँ बहस सुरु गर्ने अपेक्षा सहित प्याब्सनको आयोजना र सीटीएफको सह–आयोजनामा सम्मेलनको आयोजना गरिएको हो । माग ९ र १० गते होटल हायातमा आयोजना भएको उक्त सम्मेलनमा देश र विदेशका विभिन्न विज्ञहरुले प्रस्तुती दिएका थिए ।

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखे्रलले गरेका हुन् । उनले निजी विद्यालयले गुणस्तरीयता, राजस्व तथा रोजगारीमा पु¥याएको योगदानको कदर गर्दै राज्यले सम्मान गर्नुपर्ने बताए । निजी विद्यालयको अपेक्षा पुरा गर्न सरकार प्रतिवद्ध रहेको समेत जानकारी दिए । उनले कार्यक्रमा उपस्थित शिक्षा मन्त्रीलाई सम्बोधन गर्दै उनीहरुको विषयमा सहयोग गर्न समेत आह्वान गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले निजी विद्यालय राष्ट्रियतामा कमजोर रहेको आरोप लगाए । अंग्रेजी बोल्न नजान्दा विद्यार्थीले सजाय भोग्नुपर्ने तथा बकुल्ला बन्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने,“संस्थागत विद्यालयले हाम्रो मौलिकता समाप्त गर्न खोजिरहेका छन् ।”

यसैगरी, कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले शिक्षा नीतिले निजी विद्यालयका मागलाई केही हदसम्म सम्बोधन गरेकाले अन्य माग पनि ऐनमा सम्बोधन हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक राजेन्द्र बानियाँले विद्यालयका प्रिन्सिपलहरुलाई विद्यालयमा पढाउने शिक्षक, विद्यार्थीहरुलाई कसरी जीवनापयोगी शिक्षा दिने र विश्वबजारमा जोड्ने भन्ने कुरा सिकाउन सम्मेलनको आयोजना गरिएको बताए । उनका अनुसार विश्वबजारमा शिक्षा कता तिर गईरहेको छ र हाम्रो शैक्षिक अवस्था कस्तो छ भन्ने तुलना गरी विद्यालय शिक्षामा सुधार गर्न सम्मेलनले सहयोग गर्ने छ ।

दुई दिने उक्त सम्मेलनमा नेपालको शिक्षा क्षेत्र कता गइरहेको छ, नेपालको अहिलेको शैक्षिक अवस्था कस्तो छ, विद्यालय शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गरिएको छ । यसैगरी, सम्मेलनमा पछिल्लो समय विश्वबजारमा आएका प्रविधिलाई कसरी अवलम्बन गर्ने, हाम्रो पाठ्यक्रम कसरी बनेको छ, शिक्षक, प्रिन्सिपलले कसरी पढाइ रहेका छन्, उनीहरुलाई कसरी बहुआयामिक बनाउन र विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिन के गर्ने भन्ने विषयमा प्रस्तुती दिनुका साथै छलफल गरिएको हो ।

कार्यक्रममा निजी विद्यालय सञ्चालक, शिक्षकलगायत सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, को–अर्डिनेटर, अनुसन्धानकर्ता, शिक्षाविद्, सामुदायिक विद्यालयका शिक्षक, शिक्षा नीति निर्माणमा संलग्न व्यक्तिहरु सहित तीन सय भन्दा बढी निजी विद्यालय सञ्चालकहरुको सहभागीता रहेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वय र काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेशनको प्राविधिक सहयोगमा सम्मलेन गरिएको हो । यो प्याब्सनको इतिहासमा पहिला पटक गरिएको विद्यालय शिक्षा’सम्मेलन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *