मोरङमा स्कुल बस दुर्घटना, एकको मृत्यु

काठमाण्डौं/९ माघ– मोरङको धनपालथान गाउँपालिका–६ रामचोकमा बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बरको बस दुर्घटना भएको छ ।
दुर्घटनामा परी सहचालकसमेत रहेका बसधनी विराटनगर १५ का ३२ वर्षीय सानु शाहको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएकोे इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएको छ । रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको विराटनगरस्थित लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको बस घनपालथान गाउँपालिका वडा नम्बर ४ रामचोकको घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक खड्काले हुस्सु लागेको बेला आफूले टाढासम्म देख्न नसक्दा विपरित दिशाबाट एक्कासी आएको गाडीलाई साइड दिने क्रममा आफूले चलाएको बस अनियन्त्रित भई पल्टिएको बयान प्रारम्भिक अनुसन्धानमा दिएको छ ।
बस पल्टिँदा अधिकांश विद्यार्थी घाइते भएका छन् । धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीया सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीया लुना गौतम घाइते भएका छन् भने रञ्जिताको टाउकोमा चोट लागेको छ । सबै घाइतेको न्युरो अस्पतालमै उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *