स्ववियु निर्वाचनको तयारीमा लाग्न त्रि.वि.द्वारा निर्देशन


काठमाण्डौं/२९ पुष– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न सम्बन्धित मातहतका क्याम्पसलाई निर्देशन दिएको छ ।
आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । त्रिविको कार्यकारीको बैठकले निमित्त रजिस्ट्रार प्राडा. शिवलाल भुषालको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गर्दै सबै क्याम्पसलाई निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएको हो । त्रिविका ६२ आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
यसअघि वि सं. २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकोले अब फागुन १४ गते नै गर्नुपर्ने बाध्य भएको छ । २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १५ गरी २४ आंगिक क्याम्पसमा मतदान सम्पन्न गरेको थियो । त्यतिबेला त्रिविले पहिलो पटक २८ वर्ष उमेरहद कायम गरी निर्वाचन गरेको थियो ।
उमेर हदको विवाद भएपछि विद्यार्थी सङ्गठन र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा उपत्यकाका केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । उक्त निर्वाचन २५० क्याम्पसमा मात्र सञालन भएको थियो ।
यो वर्षको निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी, अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीमा हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *